मेरो प्यारो नरङा (कबिता)

मेरो प्यारो नरङा !

जहाँ गिंदरी र ठोट्नेको रुखमा

डाँग्रे, धोविनी, र ढुकुरले वास पाउँथे

साँझको गोधुलिसंगै

वर पिपलको रुखमा बसेर

दिनभरिको दु:ख सुख आदान प्रदान गर्थे,

चिर्विराउँथे

तल साँप देखेर झनै चिच्याउँथे

सूचना दिन्थे, एकत्रित हुन्थे

कसलाई सिकारीले मार्यो

कसले खायो, कसले खाएन

सबै खोजी हुन्थ्यो

तर आज त्यहाँ

ती रुखहरु छैनन

जताततै बनमासा फैलिएको छ

मेरो प्यारो नरङा !

कुखुराको डाँकोमा

खन्ती, कुटो, कोदालो र हल-गोरु लिएर

पर्म सुरु हुन्थ्यो

पानी लिन नरङे खोला जानु पर्ने

नुहाउने कलेस्ती खोला

दाहसंस्कार मादि-दोभानमा हुन्थ्यो

बाटोघाटो भनेको घोरेटोमात्र थियो

दु:ख थियो, तर

त्यो भन्दा धेरै सुख थियो

किन भने त्यहाँ मेल थियो

मेरो प्यारो नरङा !

शिरको टोपी गुरुङ,

आँखा मेरा कामि

दाँयाँ हातमा कुमाल,

बाँयाँ दराइ साथमा

भैलो-ध्यौसी, रोपाइँ, दाँईँ

गोठालो र रवाँटे पिङमा जुटने

ती मेरा दौँतरीहरु

समाजको विविधता, अनेकतामा एकता

सयपत्री झैँ ढकमक्क त्यही मायामा सिकेको थिएँ

”मनिस ठुलो दिलले हुन्छ जातले हुँदैन”

तर

आज धर्ममा चिरिएछ- गाउँ

जातमा भाँडिएछ- गाउँ

भुस र बियाँ मिसिएको गाँसमा

मिसाउने पछाडि हाँसिरहेछ

गाउँलेहरु कान छाम्नुभन्दा

काग समात्न दौडिरहेछ

मेरो प्यारो नरङा !

पित्रिको दु:खले आर्ज्याको गाउँ

खुँडा, भाला र तरवार लिएर

उत्पात मच्चाउन उद्धत छन

‘भाई फुटे गँवार लुटे’

आज चकमन्न छ

अर्ती दिने

न मेरो बा, न जिबा, न त सानाबा, ठुलाबा नै

न त ठुलि आमा, सानी आमा नै हुनुहुन्छ  

मिलेर नरङा बनाएका थिए

गाउँ संझाउने पर एउटा स्मारक थियो

मेरै शिरानघरे हजुरबाको घर,

त्यो पनि

शिरानघरे हजुरबाकै पनातिले

छानामा झुण्डिएको  

एक गोला बारुलाको लोभमा

बाबु आमा पर्म लाउन

पल्लो गाउँ गएका बेला

आगो लागिदियो

अहिले गाउँ खरानी भएर फुङ उँडिरहेछ

राजनीतिका केही भंडुवाहरुले मेरो देश,

यसरी नै जलाइरहेछन  

तर आज

शिक्षाको भारी बिसाउन

ज्ञान दान गर्नेको लागि

विवेकलाई शिसा झैँ फुटालेर

सिङो चौतारी भत्काउँदै   

अाआफ्नै चौतारी बनाएर   

दाताको खाता भर्न आतुर छौँ

मुलको पानी छाडेर

कोकाकोलाले तिर्खा मेटाउँदैछौँ,

मेरो प्यारो नरङा !

‘भाई फुटे गँवार लुटे’

आज आक्रान्त छ

बा र जिबा हुनुहुन्न  

गिंदरी र ठोट्ने सुकिसकेछ  

परेवा अन्तै सरीसकेछ

जताततै एन.जी.ओ.को भट्टि

पानी भन्दै कोक, र

कोक भन्दै ह्विस्की बेच्ने

प्यालाको नशा फैलिएछ

प्यालाको नशा फैलिएछ I

share rule
share rule

© जगदीश

September, 2015

naranga

naranga 2

6 thoughts on “मेरो प्यारो नरङा (कबिता)

    1. हो र दाजु ! देशको वर्तमान र गाॅउको यादमा एकैछिन बसि- बियालो ! हौसला बढ़ाइदिनु भएकोमा धन्यवाद दाजु ।

      Like

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.