बालेनले जितेको मन र मतः राजनीतिमा मडारिएको लौरो

निर्वाचन आयोगले हालै सम्पन्न स्थानीय निकायको असी प्रतिशत निर्वाचन परिणाम आइसकेको उद्घोष गरिरहेका बेला काठमाण्डौको फोहर उठन छाडेर सतप्रतिशत चाङ लागिसकेको छ।

यही समय बालेन नामका एक जना युवा स्वतन्त्र उमेदवार काठमाण्डौंमा ‘लौरो’ चुनाव चिन्ह लिएर कमलको फूल’ फोहर पोखरीमा फैलिए झैं तैरिएका छन, सबैले देख्ने गरी!  

लेखक

कुनै दिनका ‘फादर अफ डीमोक्र्यासी’ भनेर चिनिने गणेशमान सिंहको ‘लौरो’ सायद सापट लिएर तीब्र वेगले दौडिएको देहाती युवाले काठमाण्डौलाई चकित पारेको छ। यस्तो पनि प्रतित हुन्छ कि पार्टी, पार्ट र पोर्सन (भाग)को स्वार्थमा वाँधिन नमान्दा अपमानको बिष पिएका सर्बोच्च नेता गणेशमान सिंहको सम्मान फर्काउन सायद ‘लौरो’ फर्केर आएको छ। चाक्सीबारीको बगैंचामा हुर्केका रूखले ‘गणेश’ को ‘मान’ लाई अपमान गरेको देखियो, सुनियो। तर त्यही रुखको हाँगाबाट बन्न सक्ने लौरो यतिखेर संशयको प्रतिक भनेर उभिएको छ!    

यसमा ‘सिंह’दरवार मौन छ! किनभने सिंहदरवारले नीति बिगारेर कुनीति सपारेको छ र त ‘लौरो’ लोकप्रिय बन्यो; ‘कुनीति सपार्ने’हरूलाई टाउकोमा ट्वाक्क ट्क्का हिर्काउन! अनि किन पनि भने सिंहदरवार सपना बेचेर आर्जन भएको मुनाफाबाट गल‘गाँडतन्त्र’ चलाउने विपनामा मस्त छ! सिंहदरबार तर्फ लम्कने धावकहरूले के बुझेको प्रमाणित भएको छ भने- झुटको खेती मालामाल हुन्छ। झुट बोल्न राम्रो गरिरहन पर्दैन!  

नेपालमा बिक्री भएका सपनाहरू पुरा भएको भए स्विजरल्याण्ड, सिँगापुर, युरोप, मोनोरेल, पानीजाहाजले छताछुल्ल बनाउने थिए; कति हो कति छन्। तर सपनाबाट मुनाफा भने आर्जन भएको छ। यस्तो मुनाफा भ्रम बनेर स्थापित छ। त्यही मुनाफाबाट सबै खाले ‘तन्त्र’ हरू चलाईएका छन्। गणका गणेहरू मोटाएका छन्। समाज दरवारै दरवारले भरिएको छ। सपनाको मुनाफ यही हो।

विश्व व्यवस्था नै ‘कसैले केही नगुमाई कसैले केही पाउन सक्दैन’ अर्थात कसैले पाउन कसैको केही गुम्नै पर्छ(प्रोडक्सन पोसीबीलीटी फ्रन्टीयरको मान्यता) भन्ने मान्यतामा चलेको छ। त्यही भएर होला नेपालमा पनि मत लिनेहरू मौलाउँदै जाँदा मत दिनेहरू सुक्दै गएका!       

अहिले फोहरको तलाउमा कमलको फूल झैं आशाको फूल फूलाइ रहेका देहाती ठिटा हुन- बालेन साह/शाह। उनी केही होइनन्। राजनीतिभन्दा धेरै परका सामान्य, नागरिक, इन्जिनीयर र गायक। केवल काठमाण्डौमा हुर्किएको नव-दरवारिया खानदानलाई चुनौति दिन सफल युवा हुन। सिंहदरवार वरीपरीका ‘स्थापित’ ‘सिंह’ का  दरवार, शक्ति, भक्ति र जातीय संग्रामको राँकोमा करुवाको टुटीवाट चुहिँदै गरेका पानी जस्तै नशा!

बालेनले न्यारेटिभ र डीस्कोर्स बदल्न पनि सक्छन! त्यो भनेको समाज बदल्ने वास्तविक सोच, कार्यक्रम र अभियान हो।

नेपालमा राजनेता बिना जबर्जस्ति राजनीति बदलिएको छ। तन्त्र बदलिएको छ तर प्रवृत्ति जस्ताको तस्तै छ। झन् खराव भएको होला! गरिवीको त स्वरुपमात्रै बदलिएको छ।  

बालेनको न दल, बदल, रुख, प्रचण्ड-सूर्य, छहारी छ न त भाषण सुन्न ओइरिने भेडा, अरिङ्गालको ‘ठगबन्धन’ नै! न त कुनै काम गरेको स्थापित ‘प्रोफाइल’ नै अगाडी छ! जे छ ‘स्वतन्त्र’ भनिएको छ। त्यसैमा शक्ति देखिएको छ। अचम्म, मानिसहरू यिनको पक्षमा ओइरिएका छन्।

यसरी पनि बुझ्न सकिन्छ कि- जनताले ‘राम्रा’लाई नभएर दलका ‘हाम्रा’ मान्छेलाई मत हाल्नै पर्ने वाध्यता थियो, हाले। जता हेरे पनि उस्तै प्रवृत्तिका हाम्रा, दल, बदल! मत त हाल्नै पर्थ्यो तर मत हाले पनि मन बुझेको थिएन! मत दिनु नै समर्थन हो भन्न सकिन्न! भरतपूरका कांग्रेसीहरूले हसिया-हथ्यौडामा मत त हाले! आदेश माने तर हसिया-हथ्यौडाको समर्थन होइन!

काठमाण्डौवासीले आफ्नो मत र मन पनि बालेनलाई दिएर यस पटक सिंहदरवारका कुख्यातहरूलाई दुखेसो सुन्न वाद्य गराएका त छन् तर सिंहदरवारको न कान हुन्छ, न त आँखा नै! यदि भइ दिएको भए आजको दिनमा बालेनहरूको चर्चा बिषय बन्ने थिएन।

 

इमेज श्रोतः celebvogue

काठमाण्डौ पनि अजिब कै छ! नानी मैयालाई जिताउँछ। सुराही र ट्याङ्का भिरेर हिडनेहरूको त्याग चिन्दैन र ‘कृष्ण’हरूलाई पनि पराजित गरिदिन्छ। काठमाण्डौ कौरब पनि हो। किनभने यहाँ धेरै त शकुनीहरू बस्छन र ‘भान्जा’हरूलाई जुवाको खालमा पासा लडाउन चलखेल गरिरहन्छन्। किनभने काठमाण्डौमा सत्ता छ, सून छ। राज गर्नेहरूको ‘दूत’का आवास छन्। शक्ति छ, अपार व्यापार छ। मुसिवत छ, अमिर छ। सेता घरमा कालो धन छ, कालै मन छ। मन्दिर, मस्जिद, चर्च सबै छन्। के छैन काठमाण्डौमा?! त्यसैले काठमाण्डौमा छिर्न जति सजिलो छ यहाँको स्वार्थबाट निस्कन निकै गारो पनि होला! बिद्यासुन्दर पनि सुन्दरै थिए। ‘विद्या’ ‘सुन्दर’ सबै त थिए तर दुर्गन्धित भएर गए। बालेनको हाल के होला यसै भन्न सकिन्न!

मतले जितेकालाई मात्र विजेता मान्ने अघोरी मान्यताको तन्त्रमा मत निलेर, च्यातेर, हिर्काएर, थर्काएर, लुटेर वा ठगबन्धन गरेर पनि पगरी गुथ्न पाइन्छ। पगरी खोस्न जे पनि हुन सक्छ! भएकै छ। देखिएकै छ। तर मन जित्नेहरूको खासै हैषियत हुँदैन! मन जित्नेहरूलाई ‘दरवारिया’ ‘पश्चिमा’ ‘ठग’ ‘मधिसे’ ‘राजनीति नबुझेको’, ‘गैरदलीय’ जे भनेर पनि होच्याउन पनि सकिने रहेछ।  

राम्रोबाट सिक्न सक्नेको जमातभन्दा यथास्थितिमा रमाउने भेँडा, अरिङ्गालको बथान र बाहुल्यताले बालेनलाई घेरा हाल्न थालिसकेको छ। किनभने बथानको काम ‘कान्तिपुरी नगरी’मा थुप्रेको यावत फोहर हटाउनेभन्दा पनि बालेनहरूको ‘स्पिरिट’ लाई चकनाचुर पारेर एकलौटी ‘घिच्नु’ हो! हैन भने राम्रो काम गर्नेको हात समातेर साथ छाडन मिल्दैन।

नेपालीलाई चाहिएको संवृद्धि, देखिने परिवर्तन हो। भत्काएर देखिने परिवर्तनले वाक्क पारिसक्यो। ‘कपाल ह्याङ’ भै सकेको छ। संवृद्धि, नागरिकको स्वतन्त्रता र समानता त दलमा नबाँढिएरै पनि पाउन सकिन्छ। दलमा अलग अलग हुनु भनेको विभाजन पनि त हो नि!

स्वतन्त्रको एकता जति शास्वत, बलियो हुन्छ त्यति नहुन सक्छ दलहरूको एकता! दलहरूको गठन नै बिभाजित मानसिकताको उपज हो! समाजलाई बिचार, बेबिचारले जरैसम्म विभाजित गर्नु एकता होइन। त्यसैले दलीय व्यवस्थामा विभाजन नदेखिने गरी काम गर्नसक्ने क्षमता नेताहरूले प्रदर्शन गर्न सक्नु पर्छ।   

‘बा’हरूले ‘लेन’ छाडेर दुर्घटनाग्रस्त हुँदा बालेनहरू जन्मिन्छन! जन्मिएका हुन। तर ‘बा’ ले छाडेको ‘लेन’ झैं बालेनहरूले लेन नछाडुन!

भन्न सकिन्न बालेन नानीमैया हुन कि ‘फादर अफ डीमोक्र्यासी’ गणेशमान सिंहको ‘लौरो’ को ‘इन्कार्नेसन’! त्यो त समयले मात्रै बताउन सक्छ। किनभने काठमाण्डौमा जुवाडेहरूले पासा फालिरहन्छन र दाउ लगाई रहेका हुन्छन्। उनी दाउ लाग्नमात्र आएका ‘तुरुप’ हुन भने फाइदा अन्यत्रै जाला! जसैगरी नानीमैंयाहरू हराए। हैन; दाउ लगाउनै आएका रहेछन् भने एक हातका औंलामा गन्न सकिने काम गरिदिए भने बालेनको आफ्नै ‘लेन’ बन्न सक्छ। त्यसमा हिंडनेको भिड रोकि नसक्नु हुनसक्छ।

चौका, पञ्जा, छक्का, तीया, सत्र बालेनका पाँच दाउ हुन सक्लान! यसलाई जुवाको दाउ नठानेर काठमाण्डौको खुला सडकमा चाङ लागेको डुङडुङ गन्हाउने फोहर लगायत शासन, प्रशासन, सुरक्षा, राजनीति, समाज, शहर, पर्यावरण जताततै देखिएको विकृति तह लगाउने दाउ ठानेका रहेछन् भने नजितिने कुरै छैन! त्यति हुँदा उनले अहिले जितेको जनताको मन मानमा परिणत हुनेछ! सम्मानको चाङ लाग्ने छ। मन, मान र सम्मानमा मात्रै नेतृत्व स्थापित हुन सक्छ। थरमात्रै भएर हुँदैन! तब हराएको राजनेता अर्थात मन पर्ने व्यक्ति भेटिएको महशुस हुनेछ!

आगे काम तमाम गर्न रकम र लगानीको खाँचो होला तर त्यो पनि पारदर्शी नेताले पारदर्शी काम कै लागि भनेर नागरिकलाई आह्वान गरेको दिन सय रुपैयाका दरले मात्रै पनि तीन करोड नेपालीबाट तीन अरब त एकै दिनमा संकलन हुन सक्छ! कसैले धेरै देलान, कसैले नसक्लान। जे होस औषतमा एक सय रुपैया संकलन गर्न गारो छैन। सय रुपियाँको नोटको अभियानमा जनताको अपार एकता शक्तिवद्ध भएर आउन सक्छ! केवल ‘नेता’ विश्वासिलो हुनु पर्छ।

काठमाण्डौ ‘बा’को ‘लेन’ छाडेर बालेनको ‘लेन’मा आउन सक्ने चुनावी मत परिणामले देखाउँदै गएको छ। नयाँ ‘लेन’ को प्रस्थान संभावित दुर्घटनाको कारक हो वा सम्वृद्धिको थालनी! त्यसका लागि अन्तिम मत परिणाम त कुर्नै पर्छ। त्यस अलावा बालेनको शैली बुझ्न पनि समय लाग्छ! जे होस बालेनको लौरोमा जनमतमात्र हैन जन-मन पनि छ र ‘गण’को लुट ‘तन्त्र’ मच्चाउन पाइन्न भन्ने शन्देस पनि प्रष्ट छ। समय मै बुझौं!

फिचर इमेजः नेपाल लाइभ टुडे

  • जगदीश वाग्ले
  • @simantablog

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.