परिचय

झुट र अनुमानलाई प्रयोग गरिएका घटना प्रसस्त भेटिन्छन्। अनुमानलाई ज्ञानको उपज मानिन्छ। ज्ञान तथ्यहरुबाट बिकसित हुंदै जान्छ र प्राप्त ज्ञानमा आधारित रहेर धेरै अनुमानहरु प्रवाहित भइरहेका हुन्छन। अनुमान मुलत: झुट हो, यो कल्पनामा जन्मन्छ र अडिग रहेर आर्को ज्ञानका रुपमा परिणत हुन्छ।

झुटका बारेमा गरिएका बिभिन्न व्याख्या अनुसार, मुलत: विध्यमान ज्ञानको संरचनालाई भत्काउन प्रयोग गरिने ज्ञानबाट निस्कको अनुमान नै झुट हो । प्रारंभिक अवस्थामा अनुमान गर्दै बिचार बाहिर आउँछ; त्यसमा ब्यक्ती अडिग रहन्छ, बिभिन्न कार्यक्रमको माध्यमबाट आफ्ना बिचारहरुलाई स्थापित गराउँदै लैजान्छ र आफ्नो नेत्रित्व पनि त्यसैमा स्थापित गराउँदै लगेको हुन्छ । बिचारलाई जती सर्वमान्य र सत्य प्रमाणित गर्न सक्यो ब्यक्तीत्व त्यतिनै सर्वमान्य र चिरस्थायी रहन सक्छ । जस्तै गुरुत्वाकर्षणको नियम न्यूटनको ज्ञानबाट अनुमानको रुपमा बाहिर आयो, उनले यसैमा अटल निर्णय गरे, आफ्न थप ज्ञानलाई त्यसैमा लगानी गर्दै गए, पछी सर्वत्र प्रमाणित भयो आहिले गुरुत्वाकर्षणको नियम भएर ज्ञानका रुपमा चर्चित छ, न्यूटन अमर छन ।

ज्ञान, अनुमान र झुट

काङ्रेसको मान्यता मुलत: बिपी कोइरालाको ज्ञानबाट प्रस्फुटन भएका अनुमानमा आधारित छ। लामो समय अडिग रहेर आफ्नो जीवनको उत्सर्गमा उनले यो बिचारलाइ एउटा सिद्धान्तको रुपमा स्थापित गरेका हुन। त्यो बिचार एउटा संस्था बनेको थियो। बिपी कोइरालाले राजतन्त्र नभएका देशहरुको राष्ट्रियता झन मजवुत छन भन्ने तथ्यलाई परै राखेर नेपालको राष्ट्रियता मजवुत रहन सक्ने आधारहरुमा राजसंथाको अनुमान लगाए र त्यसैप्रती अडिग रहेर नेतृत्व लिन सक्ने अबस्था बनाएका थिए । उनी भित्र बिकसित यो ज्ञान सिक्किम विलय, बंगलादेशको गठन र नेहरु र इन्धिरा गान्धी डक्ट्रेनको प्रतिकार स्वरुप आएको हो।  

सुरुमा अनुमानकै भरमा आएको बिचारलाइ कोइरालाले मान्यताको रुपमा स्थापित गर्न केही हिंसाको फोर्स पनि प्रयोग गरे, झुटहरुलाई नदेखिने गरी (डिसगाइज्ड लाइ) प्रयोग गरे । २०३६ सालको जनमत संग्रहको परिणामलाइ स्विकार्दा आफु एक्लै हुनु पर्दाको क्षणमा पनि बिपी कोइराला बिचलित भएनन बरु धेरै कष्ठकर जीवन बिताए, यसरी उनको बिचार मस्किएको थियो। बिपी कोइराला बिचारमा दृढ थिए, त्यो दृढता उनलाई ज्ञानले दिएको थियो। उनी यही बिचारका कारणले गर्दा स्थापित भए। उनका कथनहरुलाई घटना र परीणामहरुले पुष्ठी गर्दै लगेको छ। त्यसैले उनले गरेका अनुमानहरु मान्यताका रुपमा स्थापित हुँदै गए।

knowledge lie nepali image
Image: SimantaMarginal

आ-आफ्ना अनुमान(झुट)हरुलाई खासगरी राजनीतिमा सत्य सावित गर्न बिभिन्न दवाव (फोर्स) को  प्रयोग गरिन्छ। यस्तो फोर्स हिंसात्मक वा तथ्यांकमा आधारित जे पनि हुन सक्छन। झुटलाई सत्य सावित गर्न प्रयोग गरिएको रणनिती नै फोर्स हो। झुटलाई मिठा शब्द र भाषा (शब्दजाल) को प्रयोग गरेर स्वभाविक बनाउन खोजिन्छ। देखिने र नदेखिने गरी झुटको प्रयोग गरिएको हुन्छ। देखिने झुटलाई उदांगो (न्याकेड लाई) र नदेखिनेलाई छिपेको झुट (डिसगाइज्ड लाई) भन्ने गरिन्छ।  यदि झुटो बोल्नु पर्ने आवश्यकता हो भने त्यो नदेखिने खालको हुनुपर्छ।

पछिल्लो चरणको नेपाली राजनीतिमा ‘उदाङ्गो झुट’ का प्रसस्त उदहारण देख्न सकिन्छ, जुन अल्पकालीन स्वार्थसंग नजिक छन। त्यसैले ती झुट कुनै गन्तव्यमा नपुग्दै पानीको फोका झैं फुट्ने गरेका छन। उदाङ्गो झुटका कारण नेतृत्व प्रति जनविश्वास कम हुँदै जान्छ। त्यसैले त्यस्ता नेतृत्वबाट गरिएका निर्णयहरू सर्वमान्य नहुने, विवादमा पर्ने र कतिपय अवस्थामा त अस्वीकृत नै हुने गर्दछन। गुठि विधेयकमा सरकारको उद्धेश्य राम्रै भएको भए पनि विगतमा नेतृत्वले पानीजहाज, घर-घरमा ग्यास, रेल, सम्वृद्धिका कुराहरु गरेर आफै प्रति ठुलो अविश्वास जगाएकोले जनताले आफ्नो शंकालाई नै सत्य ठाने। जनता सरकारी निर्णयको बिरुद्ध आन्दोलित भए; सरकारले अविस्वासको ख्याति कमायो। अन्त्यमा सरकारले विधेयक फिर्ता लिएको घोषणा गर्नु पर्र्यो। आज पर्यन्त प्रधानमन्त्रीले बोलेका कुरा सरकारले सत्य सावित गर्न सकेको छैन। सरकारले सत्य सावित गर्न सकेको भए जनताको उक्त विश्वास असत्य प्रमाणीत गर्न सकिने अवस्था आउँथ्यो। जबकि, पानीजहाज, घर-घरमा ग्यास, रेल, सम्वृद्धिका कुराहरु बोलेर हल्ला गर्नुभन्दा नबोलेर एउटामात्रै काम पनि पुरा गरेर देखाएको भए जनताको विस्वास ह्वात्तै आर्जन गर्न सकिन्थ्यो! गर्न नसक्ने, तर झुट बोलेरै भए पनि सत्तामा टिकिरहनु पर्ने अवस्था देखे पछि त्यस्तो उदाङ्गो झुट प्रयोग गरिएको थियो भन्न सकिन्छ।

झुटलाई मिठा शब्द र भाषा (शब्दजाल) को प्रयोग गरेर स्वभाविक बनाउन खोजिन्छ। यदि झुटो बोल्नु पर्ने आवश्यकता हो भने त्यो नदेखिने खालको हुनुपर्छ। झुटलाई प्रयोग गर्नुपर्ने आवश्यकताको उद्धेश्य- जनभावनामा धक्का दिंदै स्थापित मान्यताहरुलाई विस्थापित गराएर रिक्त स्थानमा आफ्नो मान्यतालाई स्थापित गराउनु हो

एउटा अनुसन्धानमा रोय सोरेन्सनले इराकी अपदस्त राष्ट्रपती सद्धाम हुसेनको शासन शैली र त्यसप्रती जनताको विश्वाशलाई आधार मानेर ‘उदाङो झुट’का बारेमा लेखेका छन । इराकी जनतामा सद्धामप्रती ‘हिजो पनि ठीक गरे, भोलि पनि ठिकै गर्नेछन’ भन्ने विश्वास थियो। त्यसको कारणमा थप जीज्ञासा राख्दा ‘पार्टी र उनी (सद्धाम) प्रतिको अटल विश्वासको परीणाम’ नै हो भन्ने जवाफ भेटियो। सम्वाददाताको हवाला दिंदै सोरेन्सन लेख्छन- सद्धामलाई आफुले ढाँटिरहेको कुरा थाहा थियो, उनलाई म झुट हो भन्ने पनि ज्ञान थियो । तर पनि झुटमा टल्केका सद्धामका कपालको तारिफ कहिलेसम्म हुन्छ !’ भन्ने कुराको हेक्का राख्न उनिभित्रको नेतृत्व वा विवेक सँधै असफल रह्यो भन्ने बुझाई अनुसन्धानमा छ।


Join 2,169 other followers

नेपाली राजनीतिमा झुटलाई प्रयोग गर्नुपर्ने आवश्यकताको उद्धेश्य- विस्वासमा धक्का दिनु हो; जसबाट स्थापित मान्यताहरुलाई विस्थापित गरेर रिक्त स्थानमा आफ्नो मान्यतालाई स्थापित गर्ने अभिष्ठ राखिएको पाईन्छ । झुट नियतवस अरुको अहित र आफ्नो हितमा प्रयोग गरिन्छ तर त्यस्तो नियतको सिकार भने आफै हुनुपर्ने अवस्था आउँछ, भनिएको छ। अनुमान(झुट)हरुलाई सत्य सावित गर्न नसक्दा निस्कने परिणाम भयंकर डरलाग्दो हुन्छ भनिएको छ। अत: संधै केही गर्छु भनेर केही नगर्ने, बरु भएको विस्वास वा संम्रचनालाई भत्काउन आफ्नो ज्ञानको दुरुपायोग गर्ने चरित्र, असफल पात्र र प्रव्रित्ति अनि त्यसैलाई नेत्रित्व मानेर हिंडने नेपाली झुण्डले सद्धामको शासनको उक्त अंशलाई प्रतिविम्वित गरेको छ। आदर्शको बखानो गरेर हजारौँ इमान्दार कार्यकर्तालाई ढाँटीरहेका नेपाली राजनीतिका धेरै जसो ‘नेता’हरुलाई पनि आफ्नो झुटबारे राम्रो ज्ञान छ ।

स्मरणिय छ कि- महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको प्रयोग शक्तिशाली अङ्ग्रेजहरुलाई गलाउने सबैभन्दा शक्तिशाली हतियार सावित भयो। अन्यथा असंख्य गान्धी समर्थक गरिव निहत्था भारतीयहरुको ज्यान जान्थ्यो। यसै कारण देखाएर अङ्ग्रेजहरुले गान्धीलाई दोषी ठहर गरिदिन पनि सक्थे, आन्दोलन तुहिन्थ्यो। तर गान्धी आफ्नो अनुमानमा अडीग मात्रै होईन; ठूलो जनधनको क्षति बिना सफल भएरै छाडे। अहिंसाको त्यो प्रयोग महात्मा गान्धीको ज्ञानको उपज थियो, उनि त्यसैमा दृढ रहे। सफल पनि भए। तर भारतको केहि अंश काटेर पाकिस्तान बनाउन गान्धीले गरेको सहमति नाथुराम गोडसेहरुका लागि घोर आपत्ति भयो, तिनै गोडसेले गान्धीलाई गोलि ठोके।

यसको कारण के हो भने, गान्धिमा रहेको हिन्दुवादी कट्टरताले त्यो पूर्ण समाजलाई हेर्ने दृष्टिकोणमा केहि रिक्तता देखायो। यद्धपि यसमा गान्धीको वाध्यता वा बुझाई फरक हुन सक्छ त्यो कुरा बाहिर आउन पाएन। त्यहि ज्ञानको रिक्ततामा अङ्ग्रेज शासन खेल्यो र अलग बिचार स्वरुप मोहम्मद जिन्हालाइ संगसंगै स्थापित गरायो। अन्तत; दुवै बिचारहरु भारत र पाकिस्तान भएर विभक्त भए।

त्यस्तै पछिल्लो समय रजनीशले आफ्नो पुस्तक ‘द गूज इज आउट’ मा गान्धीलाई अविकासवादी भन्दै आलोचना गरेका छन- यदि गान्धीले चर्खाको सट्टा विज्ञानको कुरा प्रयोग गर्न भारतीय जनतालाई प्रेरित गरेको भए आज भारत अमेरिकाभन्दा पनि बिकशित हुने थियो; भारतमा किसानभन्दा धेरै बैज्ञानिक जन्मन्थ्ये। रजनीशको अनुमान वा विस्वास छ कि- त्यो कुराको अभावमा आज पनि भारतियहरु पुरानै समाजमा थन्किएका छन ।

यसरि गान्धीको त्यो प्रयोग एउटा कालखण्डमा आईपुग्दा धेरै बिचारमा विभाजित पनि हुन गयो। यौटा बिचारले समाजमा पार्न सक्ने असरका कारण त्यस्तो विभाजन देखिनु स्वाभाविक पनि हो। त्यो अनुमानको सुविधा अङ्ग्रेज, गोडसे, रजनीश आदि सबैलाई मिल्यो। यी सबै बिचारको सामना गर्नु पर्ने दायित्व त्यस पछिका नेतृत्वको हो। उनीहरुमा सबैलाई सम्बोधन गर्न सक्ने ज्ञान हुन नित्तान्त जरुरि हुन्छ।

प्रयोग – दुरुपयोग            

आजसम्म आइपुग्दा नेपाली कांग्रेसको मान्यतालाई उपयोगीतावादले संकटमा पार्‍यो। विपिको बुझाई वा ज्ञान र त्यसपछिका नेतृत्वको बुझाई बीच काफी अन्तर हुन सक्छ; जुन देखियो। यदि विपिकै धारणामा पछिल्लो नेतृत्व अडिग रहन सकेको भए काङ्ग्रेस तुलनात्मक हिसावले बलियो रहन सक्थ्यो। आफ्नो बिचारमा अडिग रहने पुष्ठ्याईँ काङ्ग्रेस नेतृत्वले नदेखेकै कारण अर्काको विचारलाई पनि आफ्नो भन्नुपर्दाको सकस अहिलेको अवस्था हो।

नेपाली भूमिमा माओवाद स्वयं अनुमानको प्रयोग थियो । त्यस झुटलाई सत्यमा परीणत गर्न सक्ने क्षमता नेतृत्वले देखाएन। माओले कल्पना गरेको आधार ईलाका, त्यसको संरचना र रणनीतिलाई जे जसरि रोल्पा जस्तो सामरिक र भौगोलिक हिसाबले कमजोर ठाउँलाई प्रस्तुत गरिएको थियो, त्यो भ्रम थियो र उनीहरु बहुदलमा आईसकेपछि तुरुन्तै भ्रम सावित भयो। नेपालमा भारतको उपस्थितिलाई जुन किसिमबाट सजिलै रोक्न सकिने तर्क गरिएको थियो, त्यसमा सत्यता सून्य थियो। किनभने त्यसमा मावोवादी नेतृत्व पनि अडिग देखिन सकेन।

त्यसैगरी माओवादीहरुले कम्पोसाको कुरा उठाएका थिए। जसमा क्रान्तिको माध्यमबाट ‘नेपालमा भारतलाई मिसाउने’ कुरा गरिएको थियो। अर्थात क्रान्तिको नेतृत्व नेपालले गर्ने कुरा पनि गरिएको होला! यसको लामो खण्डनमा नेता झलनाथ खनालले लेखेका थिए शक्तिका आधारमा ‘नेपालमा भारतलाई मिसाउने कि भारतमा नेपाललाई मिसाउने! यो कुरा त्यतिखेरको प्रगतिशील मासिक मूल्यांकनमा छापिएको थियो। मलाई अहिले प्रकाशित मिति हेक्का भएन, छोटकरिमा कम्पोसा लेखिएको थियो। (यसबारे अलिकति विस्तार गरेका छन् सुधिर शर्माले ‘प्रयोगशाला’-पेज १५३- मा; जस अुनसार कम्पोसा भनेको ‘कोर्डीनेसन कमिटी अफ माओइस्ट पार्टीज एण्ड अर्गनाइजेसन अफ साउथ एशीया’ को छोटकरी रुप हो)। यतिसम्म भ्रम छरेका थिए माओवादीहरुले। अहिले तिनै माओवादीहरु नेता झलनाथ खनाललाई नेतृत्व गर्दछन। यस्तो अवस्थामा ज्ञान, अनुमान र विवेक स्वार्थमा रुपान्तरण भएका छन। त्यसैले त्यो ठाउँ रिक्त छ।

मावोवादीले उठाएका कुराहरु धेरै कुराहरु अव्यबहारिक थिए; यो ज्ञान थियो- कांग्रेस नेतृत्वलाई। माओवादिहरुलाई हिंसामा जानु हुँदैन, संसदमै फर्कने हो भने हतियार उठाउनु हुन्न भन्ने कुराको मनोबैज्ञानिक हेक्का र त्रास सत्ता संचालनको विधिबाट कांग्रेस नेतृत्वले समयमा दिन सकेन। यो कुराको बुझाईमा कांग्रेसी नेतृत्वको पनि अल्प ज्ञान वा स्वार्थ देखियो। यो कुरालाई समयमा जनतामा गएर प्रमाणित गर्न सकिएन। त्यसका धेरै कारणहरु छन्! जसले गर्दा न त माओवाद सार्थक थियो न त कांग्रेसवाद नै जीवित रहन सक्यो।

अहिले नेपालमा बैचारिक ज्ञानको ठूलो अभाव देखिएको छ। बिस्तारै त्यो खालि ठाउँ नेत्र बिक्रम चन्द वा सिके रावतको कुनै अवतारले लिन खोजेको देखिन्छ। यो खतराको संकेत हो, अर्को अर्थमा बैचारिक हिसावले अरुलाई खेल्ने खुला अवसर पनि हो। यता माओवादमा माओवाद हरायो, बहुदलिय पद्धती भित्रियो। अहिलेको काँग्रेसमा बिपी बिचार छैन, जुन बैचारिक शक्तिले संगठन हिंडन सक्थ्यो; न त समयानुकुल ज्ञान मन्थन नै भएको छ। अहिले हिजोका दुश्मनहरु साझा भएर चुनावमा तलमेल गरिरहेका छन, यो चरम उपयोगवाद हो। यसैलाई उनिहरु सैद्धान्तिक जितको जामा भिराएर आर्को झुट गरिरहेछन् ।

एमालेको पनि कुरै भएन- एमालेका झुटहरु पनि उदांगा छन। बैचारिक छाता च्यातिएकोले झन धेरै झुटका टालोहरु हाल्नु पर्ने अवस्था छ । वामदेव गौतमलाई सबैभन्दा धेरै भ्रष्टाचारी भन्ने प्रधानमन्त्रि केपी वली नै अहिले वामदेव गौतमको नजिक छन्। उनीहरुलाई नजिक र टाडा पार्ने काम बिचारले भन्दा पनि स्वार्थले हो। यस्तो अवस्थाले ज्ञानको रिक्त स्थान पूर्ण हुन सक्दैन।

अध्ययनहरुमा भनिएको पनि छ कि- एउटा झुट टाल्न धेरै झुटको प्रयोगले नेत्रित्व र संस्था नै झन असुरक्षित हुन थाल्दछ । संघिय गणतन्त्र आएमा नेपालले कायापलट गर्छ भनिएको थियो तर जनताले त्यस्तो महसुस गर्न र देख्न सकिरहेका छैनन । स्वयम बाबुरामहरुले आज आएर हिजोको झुट स्विकारीरहेका छन; पराजीत मासुस गर्दै छन। त्यसैले उनी अब अर्को झुटको लागि आफुलाई तयार गर्न खोज्दैछन, परीणामहरुले त्यस्तै देखाएकोछ। माओवादी आन्दोलनको रापमा हुर्किएको, जातिय उन्मुक्तिको नारालाई बाहुन छेत्री बिरुद्ध लक्षित पारीयो। यतीसम्म त ठिकै हुन सक्ला, तर झुटै झुटको कारणले गर्दा रुवाण्डाको नरसंहार र ‘भाषा’को आडमा गठन भएको बङलादेशको अवस्थासम्म पुग्न दिनु दुर्भाग्य हुनेछ।

ठुलो प्रजातान्त्रिक देश भारतले नेपालको गणतन्त्रको आदोलनलाई समर्थन गरेको भए पनि संबिधान सभाबाट निर्मित नेपालको संबिधानप्रती आफ्नो असहमती जनायो। त्यसलाई झुट सावित गर्नका लागि नाकावन्दिको फोर्स लगायो, संचार साधनको प्रयोग गर्यो। आफ्ना समर्थकहरुको परिचालन गर्‍यो। एउटा झुट टाल्न धेरै झुटहरु प्रयोग भए। स्वयं भारतीय राजदुत भन्दै थिए- नाकावन्दी लागेकै छैन। घटना र परिणामले त्यसलाई ठाडै अस्विकार गरिरहेका थिए। जबकि यसको जवाफ़ तत्कालिन भारतीय विदेशमन्त्रि सुष्मा स्वराजले त्यहाँको संसदलाई दिनु परेको थियो, खप्की खाएकी थीइन उनले संसदमा। यस्तै झुटले गर्दा जनस्तरमा अविश्वास गहिरिएको छ।

प्रमाण – प्रमाणित

यथार्थमा, बिपीवाद भनेको पृथ्वीनारायण शाहको एकिकरणलाई गरिएको सम्मान पनि हो । दिल्लिमा भएको बाह्र बुँदे संझौताको परीणाम स्वरुप काङ्रेसको राजतन्त्र पराजित भयो र माओवादी आन्दोलनको पृष्ठभुमिमा सिके रावतहरु जन्मेका छन। यो नै विपी दर्शनको बैचारिक अन्तेष्ठि पनि हो। यहाँसम्म आईपुग्दा नेपालले पुनर्संरचनाका लागि नयाँ बिचार, अठोट र ज्ञानको अभियान खोजिरहेको प्रतित हुन्छ। यदी गणतन्त्रका प्रवक्ताहरुले बिखण्डनको झुटलाई बैचारिक रुपमा गलत प्रमाणित गर्न सकेनन भने परिस्थिती भयाबह हुन्छ। त्यसैले अहिलेको नेत्रित्वले आफ्ना बिचारलाइ मधेशको आकांक्षाको सम्बोधनमा केन्द्रित गर्न सक्नुपर्छ। झुटलाई आवश्यकता परे, नाबालकहरुको हितमा अविभाकहरुले गरे झैँ, राष्ट्र र जनहितमा नदेखिने गरी प्रयोग गर्न सक्नुपर्छ। तर नदेखिने झुटको परिणाम पनि नराम्रो हुनेहुँदा त्यस तर्फ भने सचेत रहन जरुरी छ। त्यसैले मधेशिहरुमा नेपाल मेरो हो भन्ने ज्ञान जगाउनु बाहेक अहिलेको नेत्रित्वसँग विकल्प छैन । उनिहरुमा जागेको ‘मेरो हो’ भन्ने ज्ञानले मात्र अबको राष्ट्रियता बलियो हुन सक्छ।

निचोड

माथी उल्लेखित घटना र विवरणहरुले राजनीतिमा चरम झुटको खेती हुने गरेको देखाउँछ। निस्चित ज्ञानको धरातलमा उब्जिएका अनुमानलाई जबसम्म प्रमाणित गरिन्न तबसम्म झुटकै वर्गमा पर्दछ भनेर परिभाषित गरिएको छ। नेपाली राजनीतिमा हुनै नसक्ने कुराहरु बोलेर राजनीतिको क्षणिक स्वार्थ लिने गरेको भए पनि छिट्टै त्यस्ता झुटहरु उदांगिएर ‘वल्लो घाट न पल्लो तिर’ भएका उदाहरणहरु धेरै छन। तर नेतृत्व सम्वृद्धि तर्फ लम्केको कथा सुनाईरहेको छ। प्रतिपक्ष, सत्ता पक्ष नागरिक समाज, अनुसन्धाता एवं विज्ञहरुको बिचार एक आपासमा बाझिने खालका छन। जनताको बैचारिक छाता बिहिन झरीमा निथ्रुक्क छन। ओरालोमा मात्रै बग्ने पानीको चरित्र र लोकप्रिय नारामा बहकिने मानिसको स्वभाव उस्तै हुन्छ।

स्थानिय निकायको निर्वाचनमा ल्याइएका घोषणापत्रहरु धेरै झुटले भरिएका छन। त्यतिमात्र होइन मुलुक र नागरिकहरुले भयानक कष्टको जीवन झेल्नु परेको छ। नेपाली जनताले बिकास बाहेक चाहेको केही होइन तर उनिहरु बिभिन्न बहानामा ढाटिने क्रम निरन्तर छ। अहिले केही हदमा झुट स्विकार्य भए पनि कालन्तरमा यसले अहित गर्छ। सद्धाम हुसेनको कथा दोहोरिन जानसक्छ। नेपालको नेतृत्वबाट- सैधान्तिक बिचलनको आरोपबाट जोगिन, अती उपयोगीतावादको ढाक छोप गर्न र सत्तामा बसेकाहरुलाई छिटो अपदस्त गर्न एक पछी आर्को झुटहरुको प्रयोग गर्ने गरिएको छ। यसो हुनुमा प्रजातन्त्रको संवेदनशील पक्षको कमजोरी पनि हुनसक्छ, त्यहि कमजोरीलाई सत्ता प्राप्तिको भर्र्यांग बनाउने गरेको पाईञ्छ। त्यसको चर्चा उपयुक्त समयमा गरौंला। नेपालमा अहिलेको ज्ञान निर्माण प्रकृया स्ठुल नभएर ढुल्मुले अस्थिर तरल खालको छ।

यस रिक्त अवधिमा अनुमानहरुलाई कसैले पनि अगाडी ल्याउन सक्ने हुँदा बिकास र नागरिक जनजिविकाको राजनीतिमा सहमति नखोज्ने हो र झुटको प्रयोगमात्रै गर्ने हो भने मुलुकको भबिश्य तिनै झुट बोल्नेहरुबाट समाप्त हुनेछ। मान्यतामा संकट आउनु अगावै नेतृत्वले समय अनुसार पारदर्शी रुपमा बैचारिक नेतृत्व दिन तयार हुनुपर्छ। त्यसकालागी उसमा काफी ज्ञान हुन जरुरी छ र त्यही ज्ञान र दृढ अठोटले उसलाई नेतृत्वमा स्थापित गराएको हुन्छ। अन्यथा आर्थिक गरिवी भन्दा बैचारिक गरिवी मुलुकका लागि भयानक डरलाग्दो हुनजानेछ।

अहिलेको विश्व नजिर के हो भने नवउदारवाद (आधुनिकतावाद) नामको पूँजीवादी प्रतिच्छायाँ र अहिले भनिने प्रजातन्त्र व्यवस्था एउटा सिक्काका दुई पाटा हुन। किनभने अहिलेको प्रजातन्त्रलाई पूँजिवादले राम्रोसंग कजाएको छ। अत्यन्त सिमित मानिसको हातमा अथाह पूंजी केन्द्रिकरण हुनपुगेको छ। संकटग्रस्त पर्यावरण, आर्थिक असमानता, द्वन्द्व र युद्ध हालसम्म प्रयोग गरिएकै व्यवस्थाको उत्पादन हुन। त्यसको समाधानका खातिर ‘नयाँ अर्थतन्त्र’ को खोजीमा ज्ञानले आफ्नो आयतन बडाउँदै लागेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘नयाँ राष्ट्रवाद’ले नवउदारवाद (ग्लोबलाईजेसन) लाई असम्भव देखेको छ भने अमेरिकाकै वर्नि साण्डर्स (अमेरिकी राष्ट्रपतिका उम्मेदवार) र वेलायतका जेरेमी कर्विन (लेवोर पार्टीका नेता) ले प्रजातान्त्रिक समाजवादको वकालत गर्दा पनि नवउदारवाद (ग्लोबलाईजेसन) लाई नै धक्का लागेको अवस्था छ। यसरि विश्व नै नयाँ ज्ञानको खोजीमा भौंतारिनु पर्ने अवस्थामा आईपुगेको छ। कम से कम नेपाल पछिल्लो समय चीनले समेत समर्थन गर्न थालेको ‘ग्लोबलाइजेशन’ को बाटो हिडछ वा ट्रम्पको ‘नयाँ राष्ट्रवाद’ को बाटो पच्छ्याउँ छ जनतालाई त ज्ञान भरिदिनु पर्छ नि ! (संशोधित ०८/१२/२०१९)


  • जगदीश वाग्ले
  • इमेल: incomesco@outlook.com
  • थप जानकारीको लागि वेबसाईट

References:

Fallis, D., 2011. What liars can tell us about the knowledge norm of practical reasoning. The Southern Journal of Philosophy, 49(4), pp.347-367.

Powell, D., Horne, Z., Pinillos, N.Á. and Holyoak, K.J., 2015. A Bayesian framework for knowledge attribution: Evidence from semantic integration. Cognition, 139, pp.92-104.

Sorensen, R., 2007. BALD‐FACED LIES! LYING WITHOUT THE INTENT TO DECEIVE. Pacific Philosophical Quarterly, 88(2), pp.251-264.


जगदीश वाग्लेका अन्य लेखहरु