खोसिएका तिहारहरु

(कविता)

दिदी!

यस पालिपनि तिहारमा आउन पाइन

एक थुॅगो मखमलि, सयपत्री, दुवो

कचौरीमा तेल साॅचेर आशिष दिनु-

अर्कोपालि ‘शक्तिशाली भएर आएस’

परार साल जंगलिले धर्म मान्न दिएन

काटेको टिकट पनि

वाचक शिरोमणी मारिएको खवर सुनें, अनि-

रद्ध गरिदिएॅ,

पोहर साल भुकम्पले बाटोघाटो भत्काइदियो

दशैँमा आमाको हातको टिका पनि थाप्न पाइएन,

यस पालि पक्कै आउॅछु, भनेको थिएॅ

छिमेकि आफ्नै हिंदु बंशले नाकाबन्दी लगाई दिए

फेरि पनि तिहारमा आउन पाईन

खुशी त खोसीइसकेको रहेछ 

हामीमा दु:ख रोपेर पाकेको खुसी-

छिमेकीलाई पस्किने रहेछ |

हो- नपत्याए हेर त दिदी !

मेरो आॅसू जे भन- 

कोशी, कर्णाली महाकाली !

वा, पोखरामा धसिएको सेती

किनारै किनार म प्यास भएर हेपिएको छु

मेरो प्यास सुसाएर चिच्याइ रहेछ

कसैले मेरो चित्कार सुनेन

त्यसैले दिदी!

कसरि मनाउनु तिहार; खोसीएको रहेछ

दिदी !

प्रजातन्त्रको ज्योतिमा लोडसेडिङ्गको सलेदो सल्काउदै,

तिमी पनि त विना दिपको दिपावलि गर्दैछौ रे!

सुनिरहेको छु-

छिमेकिले तिमीलाई पनि सताएको छ रे 

चौतर्फी नाकावन्दी, सेल पोल्ने ग्याँस पाइेएको छैन रे!

पेट्रोल नपाएर-

भाईहरु बीच बाटोमा, गाडीहरु अलपत्र छन रे !

तिमी चिसो-काँचो दाउरा ठोस्दै;

धुवाँमा ढाकिएर सगुनको जोहो गर्दैछौ रे!

हामीले चाडबाड मनाउन नपाउँदा-

सिद्रा र एक ट्वाक रक्सिमा छिमेकी उचाल्ने त

हाम्रै भाई-भतिजाहरु हुन् रे !

तर दिदी !

कस्तै दु:खमा पनि अबिचलित देख्दा,

तिमी प्रेरणाकि श्रोत हौ, त्यसैले-

त्यही मखमली, कटुस ओखर थुपारेर

एउटा ठूलो बाँध बसाइ देउ

दुबोले जेलेर त्यसलाई बलियो बनाइदेउ

अनी सेतीको परेलीमा धसिएको मेरो आँसु

महाकालीसम्म बगेका पसिना सँगालेर,

यौटा योजना बनाइदेउ;

अर्को साल तिहारमा आउँदा

झलमल्ल बिजुली, ग्याँस, पैसा; सबै लिएर आउने छु

अनी यो साल पाक्न नसकेको 

त्यही काँचो सेल भात पकाएर खाउँला

दुष्ट छिमेकिलाई पनि निम्तो दिउँला

अनी मिठो के हो ! त्यसलाई चखाउँला

त्यसैले दिदी !

एक थुँगा सयपत्री देउ

पत्रै पत्र मिलेर शक्ति बन्छ,  भविष्य देउ

अर्को साल भेटने आशा, फुलेर मखमली फक्रि देउ,

खुसी खोस्ने यमराज राजमा

खोसिएका तिहार फिर्ता गर्न भनिदेउ

लुटिएका खुसी तत्काल फिर्ता गर भनिदेउ !

share rule

©जगदीश, 10/11/15

dipaawali

Advertisements