गोजी भित्र मोजा र मोजा भित्र सिक्काहरु थिए  

(संस्मरण) 

कालो ओभर कोट, न्याभी कट्टराइको फ्ल्याट क्याप, कालो ट्राउजर (वेलायतमा पाइण्टलाई ट्राउजर भनिन्छ) र कालै जुत्ता लगाएर प्ल्याट फर्म नम्बर तिनमा ट्रेन कुरेर उभीइरहेको थिएं । मन पर्ने कोष्टाको नभए पनि लोकल शप पम्किनको कडा कफी हातमा थियो- क्याफे अमेरिकानो ! ट्रेन स्टेसन हो; आँखाहरु डुलिरहेका थिए । यतिकैमा आकर्शक जाइण्ट शरीर भएकी गोरी तर तल देखी माथिसम्म पुरै कालो पहिरनमा सजिएकी महिलाले मै तिर हेरीरहेको देखेँ; आँखाहरु जुधे । तर उनका आँखाहरु भने बिजुली चम्किंदा झैँ हत्त न पत्त आफ्नै कालो पहिरनमा ठोक्किन पुगे । ट्रेन आयो, भित्र पसियो तर अलग अलग डिब्बा तिर ।

म छिरेको डिब्बा अली सानो थियो, किन भने त्यसको आधा जती भागमा फर्स्ट क्लासका सिटहरु सुरक्षित थिए- ‘कुलिन’हरुका लागि । राज्यको अधिकांश सुरक्षा खर्च धनीहरुको लागि जान्छ भन्ने विद्वानहरुको भनाइ त्यहाँ पनि देख्न सकिन्थ्यो । जे होस म भने खाली एक्लै बस्न सकिने सिट खोज्दै थिएँ । त्यही डिब्बामा त संभव रहेनछ । लागें चार जना बस्न मिल्ने गरी तयार पारीएको फेमेली सिट तिर; जहाँँ टेबुल पनि थियो । ब्याग माथि राखें, ओभर कोट फुकालेर काखमा राखें र कफी टेबुलमा राख्दै पहिल्यै बसिसकेका दुवैजनालाई हेर्दै सिटमा बसेँ । त्यो टेबुललाई तीन जनाले घेरेर बस्यौँ ।

मसँग जोडीएको बाँयाँ सिटमा बस्ने मानिस झट्ट हेर्दा आहिलेको भारती बिदेश सचिव शुब्रह्मण्यम जयसंकरसँग मिल्दाजुल्दो थियो; तिल चामले दारी जुँगा, कपाल, अनुहार र शरिरको बनावट ठ्याकै दुरुस्त । एकहोरो किताव पढिरहेको । तत्काल संविधान जारी गर्नु हुँदैन भनेर दवाव दिन नेपाल आएका  तिनै भारती बिदेश सचिव शुब्रह्मण्यम जयसंकर भारत फर्के पछी तत्काल संविधान जारी भयो, तर भारतले त्यसमा असन्तुष्टी जनाउँदै नेपालमाथि अघोषित नाकावन्दी लादिदियो । त्यो अहिलेसम्म जारी छ । त्यही भुत मेरो नजरमा सवार भएको हुन सक्छ । बाबुराम भट्टराई र बाराक ओबामासँग काटिकुटी अनुहार मिल्ने ब्यक्तिहरु देखेका बेला बैज्ञानिकहरुको भनाइ पढेको थिएँ- विश्वका सात जनासँग एकको अनुहार मिलेको हुन्छ । त्यसैले त्यो पढैया मानिसको अनुहार पनि जयशंकरसँग मिलेको । उ कसैको वास्ता गर्दैनथ्यो, केवल कितावमा ध्यान मग्न देखिन्थ्यो ।

मेरो अगाडिको सिटमा बसेका अन्दाजी ६५-७० का खल्वाट पुरुष पनि कतै लेक्चर दिने तयारीमा लागे झै देखिन्थ्ये, पेपरका महत्वपूर्ण हरफहरुमा पहेँलो हाइलाइटर दलेर पढिरहेका थिए । यतिनै बेला ‘लाइट रेफ्रेसमेण्ट’ नजिकै आयो । पेपर पढदै गरेका पुरुषले ट्रलीतिर हेर्दै बिना चिनीको कफी र दुई पिस भएको शर्ट ब्रेडको प्याकेट पनि मागे । पैसा तिर्न ट्राउजरको खल्तिबाट लुकाएर मुठी निकाले । मुठी भित्र मोजा रहेछ; र त्यस मोजा भित्र उनले पैसाको सिक्काहरु राखेका रहेछन । उनी निकै सतर्क देखिन्थ्ये कि त्यो मोजा कसैले नदेखोस । तर म भने उनिहरुको जीवनी र नियती चियाइ रहेको थिएँ । यतिनै बेला एकदिन तालिम लिँदै गर्दा सरको मोजा देखेको द्रिष्य झट्ट याद आयो । पढाउने सरले एउटा गोडामा रातो र आर्को गोडामा हरियो मोजा लगाएका थिए । मोजा गोडामा लगाउनु त त्यती ठुलो कुरा थिएन तर यहाँँ त खल्तिमा पैसो हालेर राखिएको थियो । त्यो देखेर मलाई रमाइलो पनि लाग्यो- आफुलाई जसरी सजिलो हुन्छ जीवन त्यसरि नै चलाऊने न हो । ती पुरुषले शर्ट ब्रेड खाँदै गरे र दुधका दुई पुरिया कफिमा हाल्न बिर्को झिकेर राखे । कफिले भरीएको कप र ती पुरुषले अप्ठेरो गरी चलाएका हात देखेर डर लागि रहेको थियो कि- ‘यो बुढाले अब पक्का पनि कफी पोख्ने भयो !’  

यसैबिच मेरो दाँयाँ तर्फ रहेको सिटको छेउमा बसेकी युवतिले भुइँतिर चोर औँलाले देखाउँदै मसंग सोधिन- ‘इट इज फर्स्ट क्लास ?’ मैले ‘नो’ भने । ती युवतिको एक्सेण्ट सुन्दा स्पेन तिरकी हुन जस्तो लाग्यो । मैले तिनलाई केही बेर अघिदेखी छटपटाइरहेको देखेको थिएँ र बुझेँ कि किन छट्पटाइ रहेकी थिइन भनेर । सामान्य टिकट लिएर फर्स्टक्लासमा बस्न पाइन्नथ्यो । उनलाई लागिरहेको रहेछ- कतै गलत ठाउँमा त बसिरहेकी छैन । त्यो डिब्बाको माहौल पनि त्यस्तै खालको देखेर उनमा त्रास जागिरहेको थियो होला ।  

सबै केही न केही पढिरहेकावेला म आँखा डुलाएर मात्रै के बस्न सक्थ्यें र ! मोवाइलमा आफ्नै ब्लग चेक गर्दै इन्कम्स्को मा प्राप्त एउटा प्रतिकृयाको उत्तर दिइरहेको थिएं । घरिघरि नेपाली र गार्जियनका समाचारहरु पनि अप्डेट गरिरहेको थिएं ।   

सिटमा आडा लाग्दै निदाए झै गरेर मेडिटेशन गर्न निकै आनन्द अाइरहेको थियो, १५-२० पटक लामो सास बिस्तारै लिँदै फाल्दै । यसैबेला शान्ति खल्बल्याउने गरी मेरो मानसपटलमा नेपाल र वेलायती जिवनको चित्र आयो । कति अन्तर छ जिवन र जिवनको परीभाषा ! यहाँँ सुखले मात्तिएको छ जीवन त्यहाँ नेपालमा दु:खले आत्तिएको छ जीवन । काने वेष्टले च्यात्तिएको डिजाइन गरेका फेशन र माइली सारसको नितम्ब देखाउने जिन्दगी मजासँग चलेको छ यहाँँ तर त्यही च्यातिएको एक हर कपडा र नाँङिएको शरीरमा गरुङो भएको छ जीवन नेपालमा । भनिन्छ पृथ्वी सबैको साझा हो । तर भागभोगले भनिरहेको छ- पृथ्वी त सक्नेहरुको पेवा हो । 

त्यसमाथि आन्दोलनका बिनास अनि भुकम्प र बाढिपहिरो पनि त्यही नेपालमा । त्यतिमात्र होइन मुश्किलले सास धानेर आसमा बाँचेका शेषहरु माथि टालै-टालाले सिलाएको  प्रजातन्त्रको थोत्रो खोल ओडेर नचिनिने शैलिमा छिमेकिले नाकावन्दी थपिदियो । अनी यही मौका छोपेर आफ्ना सामरिक रणनिती पारीत गराउन मरेर लागेका छन अरुहरु पनि । यतिवेला नेपालीको दर्दमा मलम दलिदिने कोही छैनन; छन त खोसिदिनेहरु मात्र । अचम्म त यस्तो छ कि पेरिसहरुलाई आतंकले दुख्दा हामिलाई पनि दुख्यो तर हामिलाई दुख्दा कसैलाई दुखिरहेको छैन !

पूर्व र पश्चिमबाट मानिसको आकृतीमा निस्केका बाँदरहरु रत्नपार्कको खुलामन्चमा पुगेर उद्घोष गरेको सुनेको थिएँ- ‘देश हामी बनाउँछौँ’; आर्काको दानाले अघाएका ढेँडुहरु ! केही दिन त विश्वास लाग्थ्यो- परिवर्तन हो, केही गर्लान ! तर बाँदरै रहेछन, नजिकैको नारायणहिटिदेखि गोरखासम्मका  घरहरु पुरै भत्काएर पुरुस्वार्थ सुनाउदै लैनचौरको छिंडिमा वास बस्न पुगेका थिए । आँफुलाई ‘मानव’ बताउने ती लैनचौरवासिहरुले ढेँडुहरु तँछाड-मँछाड गरेको देखे र ‘बाँदरले त अर्काको घर पनि भत्काउँछ’ भन्दै लखेटिदिए अनी खानापिना सबै बन्द गरिदिए । झ्याल ढोका पर गेटैदेखी बन्द भयो । अहिले तिनै ढेँडुहरु नारायणहिटि वरीपरिका ठुला रुखमा चमेराहरुसँग एक ओत मागेर दिन काटन वाध्य छन ! यसरी मेरा सँझना र भावनाहरु आकुल ब्याकुल भएर झन गहिरिंदै थिए । 

देशको बिग्रँदो दृश्य सिनेमाको स्न्याप झैँ घुमिरह्यो । अहिले देशमा राँके जुलुश गर्नेहरुको भिड छ, बलिरहेको छ देश जताततै । बत्ती बाल्न मट्टितेल नदिनेहरु राँको भिजाउन दान गरी रहेकाछन । निमुखाहरुको खाने, बस्ने र लगाउने बन्दोवस्त जे थियो त्यो पनि आज भत्किएर कुरुप एउटा भग्नाबशेष पारिएको छ- मेरो मातृभूमी । नगर्नु पर्ने विश्वास गरियो, गल्ती आफ्नै भयो । अनाथहरुले दु:ख पाइरहे । भन्नेहरु बाहिर निस्केकाहरुले भित्रको चासो किन लिनु पर्‍यो पनि भन्दा हुन तर चित्र लुकाउन वा केर्न सकिन्छ, मेटन सकिंदो रहेनछ । म भित्र कतै हराएको मेरो देश बाहिर भावनामा खोज्दै हिँडिरहेको छु, राम्रा राम्रा चित्रहरुसँग तुलना गरेर । जब निराशाको तितो चपाएर जिन्दगीको परिभाषा र कर्मको फल बुझ्न नसकिरहेका बेला मोजामा पैसो हालेर म कसरी निर्धक्क हिडन सकुँला र ! त्यो त मेरालागि इज्जत जाने बिषय मात्र हुनेछ ।

©Jesi, 2015

22/12/2015