सिमान्तMarginal

बिकास समिकरणको सूत्र

नयाँशक्ति: छिमेकिको निति पहिचान गर्ने सवालमा

बाबुरामको नयाॅ शक्तिमा पुराना अशोक राई र उपेन्द्र यादव पालैपलो अध्यक्ष हुने गरि पार्टी बनाउन सहमत भएको भन्ने पनि सुनिन आयो । यसै बिच बाबुरामले भने आफू प्रधानमन्त्री हुन नयाॅ शक्ति नबनाएको भनेका छन्। नेपाली जनताले झनझन कठिन दिन भोग्दै जानु परेको वाद्यताले बाबुरामको नेतृत्वलाई पनि असफल सावित गरिसकेको छ।

नेपालमा आजको परिस्थिति आउनुमा जो जहाॅ बसेर गरेको भए पनि अहिलेसम्मका नेतृत्वहरु  पूर्णतः जिम्मेदार छन। यस मानेमा माथि उल्लेखित अनुहारहरु जनताको आकांक्षालाई राज्य सत्ताको केन्द्रमा राख्न असफल नामहरु हुन। यसरी नयाँ शक्ति असफल भईसकेको पुरानो शक्ति कै परिवर्तित नाम हो भन्ने कुरा प्रारंभले बताएको छ ।

बाबुरामको नयाॅ शक्तिले प्रस्तुत गरेको प्ररम्भिक अबधारणा, ‘स’ को सुत्र र त्यसमा आर्य-खस बर्गलाई अपराधी र सामन्ती समाज निर्माणको कारक तत्व मानिएबाट नेपाली समाजलाई फेरी पनि जातिगत आधारमा पहिचान गर्न खोजिएको छ । जातको राजनीतिकै कारण मुलुकले लामो अवधिसम्म भोग्नु परेको अस्थिरता र बिदेशिको चलखेललाई चटक्कै बिर्सेंर आर्को धोका पस्कने दुस्साहस भएको छ । आजको एक्काईसौं शताब्दीमा समाजको पहिचान जातिय सुचांकभन्दा आर्थिक सूचकांकहरू सत्य हुन्छन भन्ने कुराको पुरै उपेक्षा गरिएको छ। मधेशमा सीमित व्यक्तिको हालिमुहाली, आर्य – खस समाज भित्रको गरिवी र असमानता, क्षत्रिय र लगानिका हिसावले मधेश पहाड र हिमाल भन्दा कैयौं गूणा संपन्न छ भन्ने कुराको उपेक्षाले बिश्लेषणलाई मनोगणन्त्र बनाएकोछ । मानसिक रुपमा मधेस उपेक्षित भएको हुनसक्छ तर आर्थिक लगानी र अवसरका हिसावले मधेस पहाड र हिमाल भन्दा कैयौँ गुणा लाभान्वित छ । त्यसरिनै राज्यमा भएको मधेसको सहभागीता पनि उल्लेख्य छ, बिशेषत: बहुदलको पुनर्स्थापना भए पछी यो क्रम तीब्र भएको हो । तथ्यांकमा यसलाई आर्को बिश्लेषणमा उल्लेख गरौँला । बुझ्नु पर्ने कुरा के हो- भने दक्षिणको छिमेकिले नेपालबाट आफ्नो स्वार्थ पूर्ती गर्ने केन्द्रको रुपमा मधेसलाई लिइआएको हुँदा त्यहाँको समस्या धेरै हदसम्म अतिरन्जित र नेपालको हितलाई कमजोर पार्ने खालको छ । यो कुरा नेत्रित्वले भुल्न हुन्न ।

मधेशभन्दा कैयौं गूणा बिपन्न  पहाड र हिमाल अनि मधिसे बाहेकका अन्य जनजातिको बारेमा मुख थुनेको छिमेकीको आजसम्मको षडयन्त्रलाई बाबुराम प्रभृतिले पहिचान गर्नुपर्ने ठानेको छैन उल्टै त्यही छिमेकीले आफ्नो स्वार्थ पुर्तिका लागि मधेसलाई हतियार बनाएर अघिसारेका  मागहरुलाई अनुमोदन  गर्नु पर्छ भनेर राज्यलाई झुकाउन लागि पर्नु सरासर गलत छ । हुन त चर्को राष्ट्रियताको कुरा गरेर माओवादी आन्दोलन र हिंसा चलाएकाहरु नै हतियार भएको कुरा अहिले प्रमाणित हुँदै गएकाछन । किनभने नेपालमा पटक पटकका आन्दोलनलाई सहयोग गरेको दावी गर्ने भारतले एक पछि आर्को बिकराल स्थिति आउनुमा आफ्नो पनि हिस्सा छ भन्ने कुरा कतै उल्लेख गर्न खोज्दैन ।किनभने अस्थिरता आउनुमा आफ्नो पनि हिस्सा छ भन्ने कुरा भारतले मान्न सक्नु पर्छ । त्यसैगरी हामी नेपाली नेताहरुले आफ्नो एजेण्डा पुरा गराउन अनावश्यक रुपमा भारतलाई स्थान दिँदै गएकोले आज यो परिस्थिती आएको हो भन्ने कुरा पनि स्विकार्न सक्नु पर्छ ।

हिजो २०४५ सालमा पनि भारतले नेपालीहरुलाई नाकावन्दि लगाएको थियो, त्यतिखेर प्रजातन्त्र र बहुदलको खोल ओडेर हामीले त्यसैलाइ समर्थन गरेका थियौँ- प्रजातन्त्र पाउने नाममा । त्यसरि नै भारतीय नेताहरुलाई बोलाएर दरवारको खुलेयाम बिरोध हुँदा हामीलाई लागेको थियो हामी बलिया भयौँ । आफ्नो संविधान लागु गरेर केही बलियो हुन खोज्दा त्यही अभियान आज मधेसिहरुका नाममा हुँदै छ, हामी अवाक छौँ । यस सन्दर्भमा बि पि कोइरालाले २०३३ सालमा नेपाल फर्केर ‘राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडीएको छ’ भन्दा हामीले दरवार परस्त भन्यौँ, तर आज घाँटिमा गल लागेर तिनै शब्दहरु हिक्क हिक्क बाडुली लागि रहेछन । हामीले कहिले पनि यस्ता ‘महान सोच’लाई सोच्नसम्म पनि चाहेनौँ, बरु ‘महान क्रान्ति’ भन्दै स्वदेशी शक्ती बिदेशमा बुझाउन अतिरंजित भयौँ ।

नेपालमा अहिले भारतले लगाएको नाकावन्दी लगायत जे जस्तो अस्थिरता देखिएको छ त्यो हुनूमा मुलतः तीनवटा कुराहरू जिम्मेवार छन । तिनिहरुमा भौगोलिक स्थिति, भारतको प्रवृती र नेपाली राजनीति । भौगोलिक हिसाबले नेपाल भूपरिबेष्ठित मुलुक हो । भारतसँग यसको सीमान खुला रहॅदै आएको छ। नेपालको पूर्व, पश्चिम र दक्षिणको पुरै भाग भारतले ढाकेकोछ । रोटीवेटी भनिने अति आश्रित संबन्ध, धार्मिक निकटता र रहन सहनका कारण नेपाल भारतसँग अतिआश्रित छ तर उसले त्यसलाई असल छिमेकिको रुपमा हेर्नुपर्छ भन्ने मान्यता लिन सकेको देखिन्न । साथै उसले हिमाली राज्यहरूलाई चिनसॅगको सुरक्षा पर्खालका रुपमा मात्र बुझ्न खोज्नु असमान संबन्धको विम्व हो । त्यसैगरि छैमेकीहरु बिकशित हुँदा आफु बलियो हुन सकिन्छ भन्ने सकारात्मक सोच पनि भारतसॅग देखिन्न । अन्तमा नेपाली राजनीतिमा देखिएको पाखण्ड, स्वार्थ र विवेकहीन रवैया, प्रजातन्त्र र मानव अधिकारका नाममा आन्तरिक शक्तिलाई कमजोर पार्दै नयाॅशक्ति खोज्ने, घरेलु शक्तिलाई कमजोर पार्दै बिदेशिलाई शक्ती बुझाउने र बुझाएको शक्ती फिर्ता लिन नसक्ने दास मनोव्रिती पनि नेपाली राजनीतिको कलंक रहँदै आएको छ । यी यावत कमी कमजोरिबाट माओवादीहरु पनि अछुत छैनन, बाबुराम त यसमा लम्पट नै चित्रित हुन पुगेका छन, त्यसमा उनैको ब्यवहारले रङ भर्ने काम गरेको छ ।

अहिले चाहिएको ”बिशुद्ध” नयाँशक्ती हो । नेपाली जनताले आज जुन कठिनाइ भोग्दै जानु परेको छ, त्यसमा बाबुरामको नेतृत्व चोखो छैन । यसैले बाबुरामको नेतृत्वलाई पनि असफल सावित गरिसकेको छ । मानसिक रुपमा मधेस उपेक्षित भएको हुनसक्छ तर आर्थिक लगानी र अवसरका हिसावले मधेस पहाड र हिमाल भन्दा कैयौँ गुणा लाभान्वित छ । मधेसको समस्या धेरै हदसम्म अतिरन्जित र नेपालको हितलाई कमजोर पार्ने खालको छ । नेपालमा पटक पटकका आन्दोलनलाई सहयोग गरेको दावी गर्ने भारतले एक पछि आर्को बिकराल स्थिति आउनुमा त्यही सहयोगको परीणाम हो भन्ने कुरा पनि स्विकार्न सक्नु पर्छ । त्यसैगरि छैमेकीहरु फेर्न सकिन्न र तिनिहरु बिकशित हुँदा आफु पनि बलियो हुन सकिन्छ भन्ने सकारात्मक सोच पनि भारतसॅग हुन जरुरी छ । सहयोग लिनेदिने भनेको बाँच्नु र बचाउनु हो । त्यस बाहेक ‘परस्त’ निती हुन्छ । यही हदमा बाबुरामको नयाशक्तीको औचित्य समाप्त भएको हो । उनको इख र बिषले नेपाल र नेपालाई डसी रहन आवश्यक छैन । गुमेको शक्ती र इमेज बचाउने प्रयत्न स्वरुप जन्माउन खोजेको नयाँशक्ती यिनै मानेमा नेपाली जनताका लागि अर्को  धोका हो । हामीले राज्यका पुरातन मान्यतालाई समयानुकुल परिवर्तन हुनु पर्छ भन्ने धारणा बनाइरहेको अवस्थामा छिमेकीसँगको सम्बन्धमा पनि समयानुकुल परिवर्तन हुन जरुरी छ अन्यथा आन्तरिक सुधारलेमात्र हामी गन्तव्यमा पुग्न सक्दैनौँ भन्ने कुरा बिर्सनु  हुन्न ।

©Jesi, 2015

Posted on December 6, 2015 by INCOMESCO / Jesi

%d bloggers like this: