नेपाल र भारत बीच बिषाक्त राजनीति र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनसंगै बदलिएको सोचाइ आखिर केका लागि हुनसक्छ ? सांच्चिकै असल नियत वा कुटिल चाल ! खोज्नुपर्ने उत्तर के हो भने अनुदार भनेर चिनिएको भारतीय छिमेक निति र कर्मचारितन्त्र एकाएक कसरी र किन बदलियो ? कुनै लक्षका लागि मोदीलाई यो सब गर्न समयले वाध्य पर्‍यो वा  महात्मा गान्धीको लोकप्रिय पदचिन्हलाइनै मोदीले ‘ब्राण्ड’का रुपमा अँगाल्न खोजेका हुन ? उनले  ‘पहिला छिमेक’ त भने तर अहिलेसम्म ‘मोदी डक्ट्रेन’को खाका आएको छैन । त्यहाँको अनुदार छिमेक नितिका रुपमा चिनिएको  ‘नेहरू डक्ट्रेन’को विकल्पमा तत्कालिन भारतका प्रधानमन्त्री आइ के गुजरालले बुझिने भाषामा उदार ‘गुजराल डक्ट्रेन’ प्रतिपादन गरेका थिए । तर उनको कार्यकाल निकै छोटो रह्यो । गुजराल डक्ट्रेनका पाँच बुँदाहरूमध्ये ‘छिमेकी बङलादेश, भुटान, माल्दिव्स, नेपाल र श्रीलंकासँग अपेक्षाभन्दा असल नियतबाट यिनीहरूलाई सुबिधा प्रदान गर्ने’ भन्ने थियो । प्रथम चरणमा बङलादेश, भुटान र नेपालसँग मोदीले बढाउन खोजेको सहयोगको हातले गुजराल डक्ट्रेनको सान्दर्भिकता झल्किएको पनि देखिन्छ । बङ्लादेश प्राकृतिक ग्याँस, नेपाल र भुटान जलश्रोतका धनी देशहरू हुन । तर अहिले मोदीको छिमेक नीतिको फरक सार तत्व के हो त ! त्यो प्रष्टता देखिएको छैन । जे होस विश्वका धेरै नेताहरुको लोकप्रियता घटिरहेका बेला भारतीय नेताको एकाएक यसरी लोकप्रियता बढनु  त्यहाँका जनताका लागि भने सुखद पक्ष हो ।

अनुदार भनेर चिनिएको भारतीय छिमेक निति र कर्मचारितन्त्र एकाएक कसरी र किन बदलियो ? कुनै लक्षका लागि मोदीलाई यो सब गर्न समयले वाध्य पर्‍यो !  अहिलेसम्म ‘मोदी डक्ट्रेन’को खाका आएको छैन । महात्मा गान्धीको लोकप्रिय पद चिन्हलाइ मोदीले ‘ब्राण्ड’का रुपमा अँगाल्न खोजेका हुन ?

मित्रताको असल सुरुवात

नरेन्द्र मोदी गुजरातको मुख्य मन्त्री छंदा सन २००२ मा भएको दंगामा हज्जारौँ मुश्लीमहरू मारेको आरोप खेप्नु पर्‍यो । त्यहि भएर अमेरिकाले उनको प्रवेषलाई रोक लगाउँदै आएको थियो । तर कसैको केहि लागेन;  केही महिना अगाडी भएको आम  चुनावमा मोदीले अत्यधिक मतले जिते र भारतीय जनता पार्टीको नेत्रित्वमा एकलौटी सरकार गठन गर्न सफल भए ।

सन २०१३ को सेप्टेम्बर २२ मा बेलायतको हन्स्लोमा भएको एउटा कार्यक्रमको प्रशङ जोडेर भारतीय तत्कालिन आम चुनाववारे मैले लेखेको थिएं ”भारतीय  जनता मनमोह सिंहको बुढो र राहुल गान्धीको कटमेरो नेत्रित्वमा घिस्रिनुभन्दा मोदीको निखारिएको नेत्रित्वमा उभिनेछन”, आखिर त्यस्तै भयो ।  

भारतमा नरेन्द्र मोदीको उदयसंगै नजिकका छिमेकीलाई उच्च प्राथमिकता दिनखोजेको शुक्ष्म संकेतहरू आएका छन । सार्क सम्मेलनको अवसर पारेर नेपाल र भारत बीच तीनवटा जलबिद्ध्युत परियोजनमा संझौता भए भन्ने सुनियो । यदि पञ्चेश्वरकै जस्तो हालत भएन भने अबको १० बर्षमा देशहरू झलमल्ल  उज्यालो हुने संभावना बढेर गएको छ । चाइना र भारत विश्वमै शक्तिशाली हुंदै अगाढी बढेका छन । सन २०३५ सम्म चाइना अमेरिकालाई उछिनेर विश्वको नम्बर एक शक्तिशली हुनेकुरा ‘द ग्रोथ म्याप ‘मा जीम ओ’निलले ठोकुवा गरेका छन् । तेश्रो शक्तिका रुपमा भारत उदाउने छ भनेर त्यही पुस्तकमा उल्लेख छ । यी मुलुकहरूसँग विकासको स्वार्थ गाँसेर सहयात्रा गर्नुमै नेपालको हित देखीन्छ ।

नेपालको प्राकृतिक श्रोत र अखण्डता  

बिषेशत: नेपाल र भरतबिचमा के कस्तो सम्बन्ध रहला, नेपाली पक्ष माझ चासोको बिषय हो  । बिगतमा नेपाल र भारतको सम्बन्ध राम्रो थिएन । नेपालको पानी राजनीति दुर्गन्धित थियो र भोलिका दिनहरुमा के हुने हो अहिलेको परिवर्तित सन्दर्भमा  यसै भनीहाल्ने बेला भएको छैन् । भरतसँग भएका विगतका कुनै पनि पानि संझौताहरू बिवाद रहित रहन सकेनन । त्यसो हुन नदिन नत भारतले ठुलो मुलुकको असल जिम्वेवारी सम्हाल्न सक्यो नत नेपालले आफ्नो द्रिष्टिकोण नै राख्न सक्यो । कतिसम्मभने २०५२ सालमा पञ्चेश्वर बहुउद्धेश्यिय परियोजनाकालागि सहमति हुँदा ६ महिनाभित्र (डिटेल प्रोजेक्ट रिपोर्ट (डि पी आर) बनाउने सहमति भएको थियो । तर  त्यो  १८ बर्षसम्म त्यो अड्कियो ।

नेपाल विकासको प्रचुर सम्भावना भएरपनि अकुशल शासकीय चक्रब्युहको कारणले दुर्गतिमा फस्दै  आयो ,  यो क्रम रोकिएको छैन । खासगरी यहाँको राजनीति असाध्यै परावलम्बी र पाखन्डी भएकोले कुनै तार्किक निष्कर्शमा पुग्न नसक्नु त छँदैछ, देशको आन्तरिक मामिलामा बिदेशिहरूलाई प्रशस्त खेल्ने मौका दीइएको पनि साँचो हो । प्रजातन्त्र जस्तो उच्च राजनीतिक प्रणालीलाई गलत रंगको चस्माले हेर्न खोजियो । मिलाउने नाममा प्रजातान्त्रिक आकारको ब्यवस्थालाई धेरै काटछाँट गर्दा ‘हालो काटी मुङ्रो’ भन्ने उखान जस्तै भएकोछ । परिणामत: नेपाली जनताले धेरै दु:ख झेल्नु परिरहेकोछ । नेपालमा जलबिधुत र पर्यटनको राम्रो सम्भावना छ ।  भारत र चाइना यसमा लगानी गर्न इच्छुक र सक्षम पनि छन ।  कमसेकम गरिवी, जलश्रोत, पर्यटन, बैदेशिक लगनी, अन्तरराष्ट्रिय सम्बन्ध जस्ता कुराहरुमा बाक्लै बहस चर्चा-परिचर्चाहरु हुने गरेका भए कसै न कसै माथि विश्वास गर्ने ठाउँ रहन्थ्यो । तर नेपाली जनतालाई त्यस्तो सौभाग्यसम्म पनि प्राप्त हुन सकेकोको छैन । र अब सँधै यसै गरेर बस्ने अवस्था नेपालमा पनि छैन ।  त्यसैले भौगोलिक हिसाबमा तरुलझैँ अवस्थित नेपालले आफ्ने अपार प्राकृतिक श्रोतको सदुपयोग मार्फत शक्तिको लहरा फैलाउन ढिलो गर्न हुन्न भन्ने अहिलेको प्रवल चाहना हो ।

प्राकृतिक श्रोतको उपभोग र सिक्कीम क्राइमियाहरुको दशा बुझेकाहरुका लागि  खासगरी ‘मधेश एक प्रदेश’ अभियान भित्र लुकेको शंका र अभिस्ट प्रति अबको भारतको ब्यवहार  कस्तो रहने हो भन्ने सबाल नै चासोको बिषय हो  ।

मोदी, छिमेक र  ब्यवहार 

नरेन्द्र मोदीका अगाडी धेरै चुनौतीहरू छन् । त्यसका लागि विश्वमा शक्तिशाली हुने भारतीय आकांक्षा र सम्भावना प्रमुख हो । चाइना र पाकिस्तानसँगको सिमाना बिवाद यथावत छ । तिब्वत लगायत अन्य कतिपय मामलामा भारत आफुसँग रहोस भन्ने अमेरिका चाहन्छ र स्वभाविक रुपमा भारत पनि आफ्नो पक्षमा अमेरिकी सहयोग चाहन्छ । अमेरिकाले उसमाथि लाग्ने गरेको आरोप कम गर्न  गुजरातको दंगा जोडेर आफुलाई उग्र मुश्लिम बिरोधी देखाएको भन्ने मोदिको बुझाई रह्यो भने दुबै मुलुक न लाभ न हानीको अवस्थामा पनि रहन सक्छन, यिनिहरु अरु चीसिन पनि सक्छन । अमेरिकालाई ‘इग्नोर’ गरेर जानुपर्छ भन्ने राय दिनेहरु पनि छन । तर मोदिले त्यसो नगर्लान । अमेरिका लगायत पश्चिमाहरूले मोदीलाई हेर्दै आएको द्रिष्टिकोणका कारण न त पश्चिमाहरू त्यसलाई बिर्सेर मोदिसंग झुम्मिन सकेका छन न त मोदिले आफ्नो अपमानलाइनै बिर्सिसकेका छन । यिनिहरु अहिले एकले अर्कोलाई ‘पर्ख र हेर’को नीतिमा देखिएकाछन । मोदीलाई लागेको हुन सक्छ की स्वदेश र नजिकका  छिमेकीहरूलाई खुशी पार्न सकियो भने पश्चिमाहरू क्रमश: आफुतर्फ आकर्षित हुनेछन र बर्षौँसम्म चिसो सम्बन्धमा काठिएका छिमेकीहरूलाई पनि न्यानो उर्जा मिल्नेछ । जसलेगर्दा भारतको शान उच्च हुनेछ । यो सर्बोत्तम उपाय हो । उनिमाथी लगाइएको मुश्लीम बिरोधी दाग पखाल्ने राम्रो उपाय पनि यहि हो जसले गर्दा पाकिस्थान र बाङ्लादेशसँग भारतको संबन्ध राम्रो हुंदैजानेछ । जेहोस मोदी आफ्नो कार्यकालमा ‘ईण्डियन ब्राण्ड’ तयार गर्ने सोचमा चित्रण भएकाछन ।

आन्तरिक रुपमा – भारतको प्रमुख समस्या भनेको गरिवि, भ्रष्टाचार, अन्याय र आतंक हुन । भारतलाई यिनै बिक्रितिहरूले झाँटेर माथी उठ्नै दिएका छैनन । त्यसैले भारतले आन्तरिक रुपमा यी विक्रितीको सामना गर्नुपर्छ ।  मोदीको राजनीति चियाको कपबाट उठेको कुरा स्वयंले बताउदै आएका छन, त्यसैले पनि उनी भारतलाई बुझेका नेता हुन, उनलाई थाहा छ की समस्या कहाँ छ भनेर । कट्टर हिन्दूहरुको चाहनालाई पनि उनले लागु गर्नु पर्नेछ ।  यदि मोदीले बुद्धि पुर्याउन सकेनन भने उनी असफल हुनु त छँदैछ समुल भारत जातीय दङामा फस्न / फसाइन पनि सक्छ  । र छिमेकीहरूले पनि त्यसको धेर-थोर मार खेप्नुपर्ने हुन्छ ।

चाइनालाई उछिन्नु पर्छ भन्ने पश्चिमा सोचाइ र भारतीय चाहनाले पनि उनको पक्षमा काम गरेको हुनुपर्छ । ऊनीहरूको नजरमा चाइनाको प्रभुत्व दक्षिण एशियामा निकै बढेर गएको बुझाइ छ ।  त्यतिमात्र होईन आफ्नो गुजरातको लोकप्रियतालाई पनि मोदी कायम राख्न चाहन्छन । वास्तवमा  अहिले भारतले चाहेको नेत्रित्व यस्तै हो । त्यसैले यतिखेर मोदी बढो सावधानि पुर्वक आफ्नो नेत्रित्व कला-शैली प्रस्तुत गर्न चाहन्छन । त्यसैले उनको यो चाहना छिमेकिहरुका लागि पनि हितकारी छ ।

सार

मोदीले देखेको लाभमा सबैको लाभ हुन्छ भन्ने छैन, किनभने भारतीय नेताहरूले पहिले ऊनीहरूको स्वार्थ हेर्नेछन । कमसेकम बिगतको  मिचाहा प्रव्रिती भारतले देखाएन भने पनि छिमेकीले सुखको स्वास फेर्न पाउनेछन । तर यो पनि हेक्का राख्न जरुरी छ कि साना छिमेकीहरूको कारणले पनि ठुला छिमेकीहरू प्रताडित हुन सक्छन् । मोदीको नेत्रित्वसंगै दक्षिण एशियाको मुहार बदलिन प्रष्ट नीतीको खाँचो छ । प्राकृतिक श्रोतको उपभोग र खासगरी ‘मधेश एक प्रदेश’ अभियान भित्र लुकेको शंका र अभिस्ट प्रति अबको भारतको ब्यवहार  कस्तो रहने हो भन्ने सबाल नै चासोको बिषय हो । १०० दिनको उनको कार्यकालमा जुन सकारात्मक लहर आएकोछ त्यो राम्रो हो, आगे उनले कति बुद्धि पुर्याउलान र कति सहयोग पाउलान त्यो भने हेर्नै पर्छ ।

Posted on December 2, 2014 ©  सिमान्त,

Resources

IN MEMORY OF INDER KUMAR GUJRAL 

India’s Role in South Asia – Perceived Hegemony or Reluctant Leadership 

The Gujral Doctrine and Beyond 

Indian Foreign Policy Under Narendra Modi

Modi in Nepal : Religion and Diplomacy

Why PM Narendra Modi’s invite to Obama makes a watershed in India – U.S. ties