– जगदीश वाग्ले
संगितको धुनले कसलाई लट्ठ नपार्ला र! तलबको थोरै आम्दानी बचाएर विद्यार्थी जिवनमा भर्खर खुलेको नेपालको आधुनिक भटभटेनी सुपर मार्केटबाट किनेको सोनी वाकमेनमा रातैभरी गीत सुनेको अहिल्यै हो जस्तो लाग्छ। अहिले पनि फुर्सदका बेला गीतसँग भुल्ने मन बाहिरिएको छैन।
त्यसमध्ये नारायण गोपालका प्रायः सबै, एकोनको ‘आइ वान्ट टु मेक लभ राइट ना ना ना’ मोहम्मद रफीको ‘सारङ्गा तेरी यादमें नयन हुए बेचैन’ दोस्तीको ‘चाहुँगा मै तेरे’ धेरै सुनेका गीत हुनुपर्छ। नारायण गोपाल, कुन्ति मोक्तान, एकोन, पंकज उदास, लता, शलमा अगा, जगजित, के एल सैगललगायतका प्रायः सबै राम्रा गीत छोडिएन। तर मलाई गीतको लिरिक्सभने हेक्का रहँदैन।
मलाई मन परेको ‘केदारनाथ’ फ्लिमको ‘नमो नमो’ गीत नै हो जस्तो लाग्छ। जब संगितको मुड बन्छ पहिला यो गीत सुनेरमात्रै अरू सुन्न मन लाग्छ। गीत संगितले मन मस्तिषकलाई रिफ्रेस गराइ रहन्छ। संगितमा शक्ति हुन्छ।
‘नमो नमो’ गीत मैले नेपालको बसाईपछि वेलायत फर्कँदा टर्कीस एयरलाइन्समा आकाशमै अनायस सुनेको थिएँ। लामो फ्लाइटको गरुङ्गोपन बिसाउन रेण्डमली यौट हिन्दी फ्लिम छाने, त्यो ‘केदारनाथ’ थियो। नामले पनि आकर्षित गरेको होला। शुरू तिरै ‘नमो नमो’ गीत गुन्जियो, फ्लिम छोडनै मन लागेन। हिरो र हिरोइन पनि राम्रो लागे तर दुबैको नाम थाहा थिएन। यिनिहरूलाई देखेको त्यही नै पहिलो पटक थियो !
‘केदारनाथ’मा खेल्ने हिरो सुशान्त सिं राजपुत भएको पछि थाहा भयो। भारत, बिहारको निम्न परिवारमा जन्मेर लाखौं उच्च आकांक्षी युवाहरूको आकर्षण बन्न सकेका ‘सु-शान्त’ अहिले धरतिमा छैनन्; किन !? नाफा बाहेक मानव कल्याणका कुरामा पूँजीवादले खासै चासो राखेको तथ्य कमसेकम मैले पाउने सकेको छैन।
पिताजीबाट सानैदेखि सुनेको शब्द ‘केदारनाथ’, यसै पनि रोमाञ्चक लाग्ने नै भयो! पहिलो गित ‘नमो नमो’नै रोमाञ्चकारी, मन तरङ्गित गराउने लाग्यो!
सुशान्त सिं राजपुत त निकै स्थापित लोकप्रिय कलाकार भएको बारे पनि थाहा भयो! यो लेखिरहँदा पनि यौटै गीत ‘नमो नमो’ सुनिरहेको थिएँ। गितको ब्याग्ग्राउण्डमा बोलिएको ‘नेपाल’ शब्दले झन् रोमान्चक गराईरहन्छ। यसैले केही नलेखिरहन सकिन।
‘केदारनाथ’को शिव ताण्डव स्तोत्रमसँग मेलखाने पहिलो गीतको भाकाले त झन्झन् तानिरहन्छ। सानैमा पिताजीले पाठ गर्नुहुने ‘शिव ताण्डव स्तोत्रम’ को लय याद आइरहन्छ। गीतले धेरै अर्थ राख्दछ मेरालागि।
सुशान्त सिं राजपुतले आत्महत्या गरेको समयमा कोरोना संक्रमणको संयोगले म नेपालमा थुनिनु परेको थियो। त्यतिबेला त यो गीत झनै सुन्न मन लाग्यो। प्रश्न आइरहन्छ कि ३४ वर्षकै कलिलो उमेरमा किन लोकप्रिय अभिनेता सुशान्तले आत्महत्या गरे!
कोरोनाको जेलमा वन्दी भएर रहँदाको यसै समयमा मदन पुरस्कारले सम्मानीत अमर न्यौपानेको कृति ‘सेतो धरती’ एकै दिनमा पढेर सकियो। उपन्यासमा एउटी कुकुर्नीले मातृत्व वहन गरेर टुहुरो मानव नावालकलाई स्तन पान गराएको वर्णनले असाध्यै मन छोयो; भावुक बनायो। नयाँ प्रयोगका कारण कृति उत्कृष्ट लाग्यो।
कोरोनाले थुनेर नेपाल घुम्न नपाए पनि साहित्य र विचारमार्फत समाज बुज्ने मौका भने मिल्यो। यसै समयमा पाउलो कोयलोको ‘इलेभेन मिनेट’ पनि पढने मौका मिल्यो। उनको ‘अल्केमिस्ट’ वेलायतमा ट्रेन यात्रा गर्दाका वखत कसैले छोडेको किताव पढने मौका मिलेको थियो। त्यसैले ‘इलेभेन मिनेट’ प्रति चाख लागेको हुनुपर्छ। अनि सुधिर शर्माको ‘प्रयोगशाला’ पनि कोरोना कैदमा पढेको हुँ।
मैले तत् समय पढेको ‘मूल्याङ्कन’ मासिकमा माओवादी आन्दोलनलाई झलनाथ खनालले लक्षित गर्दै लेखेको ‘कम्पोसा’ बारेको लेखको अलिकति आधार वा पुष्ठी ‘प्रयोगशाला’मा पनि फेला पार्न सकेँ (हेर्नुहोस ‘प्रयोगशाला’ पेज १५३)। ‘मूल्याङ्कन’ को त्यो हार्डकपी पाउन कठिन छ। त्यसैले सुधिर शर्माको ‘प्रयोगशाला’को यो पेजलाई मोवाइलमै कैद गरेको छु।
फरक बिचार जान्नकालागि म निरन्तर ‘मूल्याङ्कन’ पढने गर्थेँ। माओवादीको रोल्पालाई आधार इलाका बनाउने तथाकथित योजना कुनै हालतमा सफल नहुने मेरो निश्कर्ष थियो। किनभने माओको ‘आधार इलाका’मा हुनुपर्ने घेराहरू र भौतिक पुर्वाधार माओवादीको रोल्पामा छँदैथिएन।
सुरक्षित राखिएका ‘मूल्याङ्कन’का प्रतिहरू तत्कालिन धापासी, वसुन्धरामा माओवादीहरूद्वारा गरिएको व्यक्तिहत्याको तत्कालिन त्रास र सम्भावित आर्मी अपरेशनको कारण तत्काल जलाइएको थियो। हत्याको तेस्रो दिनमा गरिएको नेपाल आर्मीको ‘कर्डन एण्ड सर्च अपरेशन’ अन्तरगत मध्यरातमा भोगेको मेरो प्रत्यक्ष अनुभवले भन्यो कि ‘मूल्याङ्कन’का ती प्रतिहरू न जलाएको भए जिवन धरापमा पर्ने रहेछ!
जीवन असाध्यै असुरक्षित लाग्यो। छोराछोरीको अनुहारमा हेर्न सक्ने शक्ति नै हरायो। त्यो घटनाले मलाई माओवादी शब्दैसँग घृणा लागेर आउने बनायो। हो, मलाइ सिरिया, अफगानिस्तान, इराकबाट जिवनको खोजिमा आतङ्कको योजना बनाइएका देशमै शरण खोज्न आतुर डाक्टर, इन्जिनियरहरू प्रति असाध्यै सहानुभूति जागेर आउँछ।
यही समयमा गीता, महाभारत जस्ता सिरियल हेर्ने मौका पनि मिल्यो। जोन क्यामेरुन समेतको पुस्तक ‘नेपाल इन क्राइसिसःग्रोथ एन्ड स्टगनेसन एट द पेरीफेरी’ पढेपछि इम्यानुयल वालरस्टीनको विकास सिद्धान्तमा आधारित लेख नै लेखें, देशसञ्चारमा प्रकाशित छ। देशसञ्चारको लेखन यात्रा रोकिएको छैन।
म देशसञ्चारको टीमसँग प्रत्यक्ष परिचित छैन; तर लेखहरू निरन्तर जस्ताको त्यस्तै छापिएका छन्। मलाई आफ्नो लेखनमा अझ जिम्मेवार हुन वहाँहरूको व्यवहारले प्रेरित गरेको छ। देशसञ्चार टीम विषेशगरी वरिष्ठ पत्रकार युवराज घिमिरे र मनोज दाहाललाई त जति धन्यवाद दिए पनि कमै हुन्छ।
कोरोनाको अत्याड लाग्दो जेलमा परिवारवाट पाएको आत्मियता, सहयोग र सेवाभाव मेरो जिवनको सबैभन्दा ठूलो र गौरवशाली शक्ति हो। नेपालको माओवादी आन्दोलनले तेस्रो नागरिक बन्न वाध्य बनाएकोमा आक्रोष छ। नत त्यो आन्दोलनले नेपालमै रहनेलाई सुरक्षित बनायो!
नेपालको माओवादी आन्दोलनले हिन्दुत्वमाथि पनि धावा वोल्यो। निर्दोष पण्डित नारायण प्रसाद पोखरेल लगायतको हत्या गरियो।
हिन्दुत्व र केदारनाथको धार्मिक महत्वका कारणलेमात्रै भन्दा पनि ‘केदारनाथ’को संगीत र सन्देश पक्ष बलियो भएकोले मेरालागि ‘केदारनाथ’ यतिधेरै आकर्षित भएको हुनुपर्छ। यत्रो संभावना भएका चर्चीत अभिनेता सुशान्तले दुनियालाई प्रेरित गर्न छाडेर जिवनबाटै हार्ने काम गरेको प्रति भने दुःखित बनायो, अचम्भित गराइ रहेको छ। के कारण थियो कि सुशान्तले दुनियाँलाई प्रेरित गर्न छाडेर जिवन नै त्याग्ने ठूलो कमजोरीलाई ठीक ठाने! ‘केदारनाथ’ हिन्दु परिवारकी नायिका र मुश्लिम परिवारका नायकबीचको प्रेममा बुनिएको हिन्दी चलचीत्र हो।