देवता, डाक्टर र पिताजी

(सुलेख मासिक, वर्ष ७, अङ्क ६, पूर्णाङ ७३, २०७५ असोजमा प्रकाशित आत्मपरक निबन्ध)

  • त्रिभुवनचन्द्र वाग्ले

पिताजी अहिले हामीबीच हुनुहुन्न । वि.सं. २०६३ पुस ९ गते निधन भएपछि उहाँ सम्झनामा मात्र हुनुहुन्छ । एउटा सामान्य नेपाली उहाँको जीवनी र अनुभव आमपाठकका लागि रूचिकर नहुन सक्छ ।  लामो कालखण्डमा मानिसका जीवनमा आएका उतारचढावलाई रङ्मसला दलेर लेखिने वर्णन सायद साहित्य हो । त्यसैले मानिसँग नजोडिएका घटना सायद साहित्य बन्न सक्दैनन् । मैले आजसम्म पढेका जाति पनि साहित्य छन् ती मानवसँग नजोडिएका छैनन् ।  पिताजीको जीवनमा भएका एकाध घटनाले मलाई आजसम्म पनि स्तब्ध बनाउँछ । उहाँ परलोक भएदेखि नै उहाँ र चिकित्सकबीचका परिघटना उल्लेख गरेर एउटा आलेख तयार गर्न मन लागेको थियो । पटकपटकको मेरो त्यो प्रयास पूरा हुन सकेको थिएन । यसपटक बढो सम्हेएर लेख्न सकेको छु । हाम्रा पिताजी र खासगरी हाम्रो सन्दर्भमा नेपालका केही चिकित्सकहरू देवता नै हुनुभएको छ । प्रसङ्बश ती चिकित्सकहरूको नाम पत्रपत्रिका वा अन्य मिडियामा देख्ने÷सुन्ने बित्तिकै हाम्रो परिवार नै गम्भीर हुन्छ । यो सामग्री हाम्रा पिताजीभन्दा पनि तिनै “देवता डाक्टर”लाई न्याय गर्नुपर्छ भन्ने मभित्रको मानवीय न्यायाधीशले मलाई पे्ररित गरेर तयार गरेको हुँ ।  

पिताजी बालचन्द्र वाग्ले

वि.सं.२०४९तिरबाट पिताजीलाई घाँटीको फुडपाइमा असाध्यै दुख्ने समस्या आयो । नियमित दुख्दैनथ्यो शुरुमा हप्तापन्ध्र दिनमा एकपटक दुख्ने यो रोगलाई उहाँले रुघांश भनेर सोही बमोजिम उपचार गर्नुभयो । औपचारिक वैद्य नभएपनि उहाँ आयुर्वेदीय औषधीको पोख्त प्रगोगकर्ता हुनुहुन्थ्योे । हाम्रो घरमा गाउँका विशेष गरी बच्चा, दग्दी, प्रसुती, महिनावारी, दोष (टाइफाइडका) विरामीको निकै  आवतजावत हुन्थ्यो । घरैमा आयुर्वेदीय औषधी हुन्थे । किताव पढेकै भरमा उहाँले चिकित्सकले भनेअनुसार क्षयरोगीहरूलाई तीन वा छमहिना लगाउनु पर्ने इन्जेक्शन लगाउनु हुन्थोे ।

पिताजी बालचन्द्र वाग्ले

 घाँटीका दुखाइको तीखोपन र बारम्बारता ( फ्रिक्वन्सी ) बढ्दै गएपछि उहाँ काठमाडौँ आउनुभयो । पहिलोपटक मलाई सम्झना भएअनुसार न्यूरोविन औषधी दिइएको थियो उहाँलाई । त्यसले केही निद्रा, लठ्ठपन र दुखाइ कम गरेको अनुभव गर्नुभएको थियो उहाँले । पछि यो औषधीले काम गरेन । त्रिवि शिक्षण अस्पतालको सामान्य चिकित्सा विभागबाट उपचार सुरु भयो । जबसम्म दुख्दैनथ्यो उहाँलाई विरामी भनेर स्वयं चिकित्सकहरूले पत्याउनु हुन्नथ्यो । जब दुख्थ्यो उहाँलाई दुईजनाले अठ्याउनु पर्दथ्यो । एकदुईपटक डाक्टर सापहरूले यस्तो अवस्था देखेपछि उहाँलाई डा. जगदीश अग्रवालले हेर्नुभयो । मलाई पहिलेदेखि नै पिताजीको रोगबारे डा. अग्रवाललाई जानकारी गराउन मन थियो । तर त्यस्तो अवसर मिलेको थिएन । केही हप्ताको  नियमित अस्पताल आतेजातेपछि तनहुँ जामुनेका डा. बुद्धिबहादुर थापाले डा. अग्रवालसँग भेटाइ दिनुभएको थियो । दुईतीनपटक जाँच्दासम्म डा. (थापासँग हाम्रो “क्षेत्रीय” र चिनजानको साइनो बसेको थियो । हामी पनि तनहुँको, जामुनेका प्रतिष्ठित पण्डित दीनानाथ काफ्ले (पिताजीका भानिज) लाई डा. थापाले अत्यन्त सम्मान गर्नुहुँदो रहेछ । त्यो नाता र बिरामीको अवस्था देखेर डा. थापाले डा. अग्रवालसम्म हाम्रो केश पु¥याउनु भयो । डा.अग्रवालले यो केशलाई गम्भीरतापूर्वक लिएर भन्नुभयो– तपाईको बाको नयाँ प्रविधिले उपचार गर्नुपर्दछ । बेलायतबाट एकजना विशेषज्ञ आउदै छन् भन्दै उहाँले मलाई सम्पर्कमा बस्न भन्नुभयो । म पटकपटक उहाँ छेउ पुग्थेँ । पछिपछि त चिन्न थाल्नु भयो । पिताजीको घाँटी अघोर दुख्न थालेको थियो, खानाखान हुँदैनथ्यो । वेलायतबाट डाक्टर कहिले आउने कहिले उपचार हुने । हामी अधीर थियौ ।

एकदिन बेलायती डा. मार्क चर्चिलसँग डा. अग्रवालले भेटाउनु भयो । उहाँहरूले न्यूरल्जिया यस्तै केही शब्द प्रयोग गरी पेन मेनेजमेन्ट अन्तरगर्त उपचार गर्नुपर्छ भनेर निष्कर्ष निकाल्नु भएको मैल बुझेँ । डाक्टर त्रय, अग्रवाल, बुद्धिबहादुर र चर्चिलले निष्कर्ष निकाल्नु भएछ– एब्सुलुट अल्कोहलले पिताजीको दुखेको नशामा इन्जेक्सन दिने । मलाई यो औषधी खोज्न भन्नुभयो । काठमाडौभर कतै पाइएन त्यो कुरा डा. अग्रवाल, बुद्धिबहादुर र चर्चिललाई बताएपछि फेरि उपाय निकाल्नु भएछ सम्भवतः सोडियम र के–के मिसाएर दुखेकै नशामा इन्जेक्शन दिने । यसोगर्दा दुखेको नशामै त्यो औषधी नपरेर अन्यत्र परेमा मस्तिष्क वा मुटुमा समेत गम्भीर प्रभाव पर्न सक्दोरहेछ । औषधी डाक्टर सापहरूले नै व्यवस्था गर्नुभयो । डा. चर्चिलले इन्जेक्शन दिएर भ्याएको केही क्षणपछि सामान्य लठ्ठपनबाट पिताजी पूर्ण होस्मा आउनुभयो । केहीबेर अघिसम्म असाध्यै दुखेको घाँटी छाम्दै पिताले आश्चर्य व्यक्त गर्नुभयो– ‘मेरो दुखाइ के भयो ।’ झण्डै सातफिट अग्ला चर्चिल, अग्रवाल र थापा डाक्टर सापहरूको अनुहारमा देखिएको खुशी साँचै पेशाप्रतिको सन्तुष्टि थियो । हामी घर फर्कदै गर्दा डा. अग्रवालले भन्नुभएको थियो– अब तपाईको बुवालाई कम्तिमा पनि एकवर्ष यो दुखाइ बल्झने छैन । हामीलाई एकवर्ष धेरै लामो लाग्यो । घरमा सबै दङ्ग । पिताजी त आश्चर्यचकित । दुखाइ चट ।

पिताजी बालचन्द्र वाग्ले

उपचारको तीन वर्षपछि मात्र पिताजीलाई दुखाइ बल्झियो । चर्चिल वेलायत, डा. बुद्धि थापा पोखरा सरुवा जानुभयो । डा.अग्रवाल टिचिङ् अस्पतालमै । म उहाँहरू कतै जानुहुन्छ वा सरुवा हुन्छ कि भनेर निकै सरोकार राख्देँ उहाँहरूउपर । यसपटक डा. अग्रवालले नेपालमा यस्तो काम डा. स्वाँरले गर्न सक्नुहुन्छ भन्नुभयो । डा. स्वाँरलाई खोज्न म र दाजु कुलचन्द्र वाग्ले विशालनगर हाडीगाँउतिर गयौं । बिहानभरको खोजाइपछि उहाँको घर भेटियो । पिताजीका सबै मेडिकल लिटरेचर हेरेर उहाँले यो उपचारका बारेमा केही बताइदिनुभयो– यो पेन(दुखाइ) मेनेजमेन्ट हो, अक्सर खेलाडीहरूलाई तुरुन्त खेलमा फर्काउन दुखेको ठाँउमा इन्जेक्शन दिइन्छ । त्यो औषधीको लठ्याइले पीडितले दुखेको अनुभव गर्दैन, आदि इत्यादि । उहाँले यसका लागि नेपालका “उत्तम व्यक्ति डा.नीलमणि शर्मा हुन् उनलाई खोज्नुहोस्, सम्भवतः ऊ जोरपाटी अस्पतालमा छ” भन्नुभयो । दुई दिनको प्रयासपछि जोरपाटी अस्पतालमा कार्यरत डा. नीलमणिसँग भेटेर मैले सबै कुरा बतााएँ । उहाँले पिताजीको उपचार गरिदिनु भयो । यसपटकको उपचारले करिब एकवर्ष दुखेन । त्यसपछि छमहिना वर्षदिनको अन्तरालमा डा.नीलमणीलाई भेट्थ्यौं तर न त पिताजी न मैले उहाँलाई राम्ररी चिन्यौं । उहाँ सधँ अपरेशनका बेला डाक्टरले लगाउने हरियो टोपी र मास्कमा हुनुहुन्थ्यो । पटकपटकको भेट र उपचारले गर्दा पिताजी भन्नुहुन्थो–डा. नीलमणि त मेरालागि साँचै नीलमणि हुन् । जोरपाटी अस्पतालमार्फत एक पैसा पनि (अस्पताल वा डाक्टर) नलागी हामीले यो उपचार पायौं । पिताजीले अति नै कर गर्नुभो–‘बाबु एकजोर राम्रो सुटपाइन्टको कपडा किनिदेओ, एउटा असल सुटकेसमा राखेर म नीलमणि डाक्टरलाई उपहार दिन्छु ।’ यो कुरा हामीलाई पनि ठिकै लाग्यो । डा. नीलमणि सापको उपचारप्रति कृतज्ञता व्यक्त गर्ने यो नै राम्रो उपाय हो । विरामीको चाहनालाई संवेदनशील भएर हेरिदो रहेछ तर पनि एकपटक डा.सापको पूर्वअनुमति लिऔं भन्ने निर्णय गरियो । यतिखेरसम्म उहाँ जोरपाटी मेडिकल कलेज छाडेर बि.एण्ड बिमा कार्यरत हुनुहुन्थो । मैले बि.एण्ड बिमा गएर उहाँसँग पिताजीको इच्छा सुनाउँदै यस्तो अनुमति लिन खोजेँ । त्यसपटक बिना मास्क र हरियो टोपी बाहिर आउनु भएकाले यसैपटक मात्र मैले उहाँलाई पूरा अनुहारमा देखें । हसिलो डाक्टर, कल्साम्दो कालो, चिल्लो अनुहार, कताकता महादेवको जस्ता नीलोकालो अनुहारको छाला, मलाई अहिले पनि उहाँको याद आइरहन्छ । उहाँले मेरो कुरा सिधै अस्वीकार गर्नुभयो । पिताजीलाई सोधेर केही भएमा यही (बि.एण्ड बि) ल्याउनु भन्नुभयो । त्यसपटक दुख्न अलिअलि सुरु गर्दैगर्दा हामी बि.एण्ड बि गयौं । पिताजी मजैले गफ गर्न सक्नुहुन्थ्यो । उहाँले पनि सबै कुरा नछिचोलेर “हजुरले केही उपहार लिइदिनुभयो भने मलाई सन्तुष्टि हुने थियो” भन्नुभयो तर डाक्टर नीलमणि सापले यसपटक पनि पिताजीको प्रस्तावमा धन्यवाद मात्र भनिदिनुभयो । हाँसेर अस्वीकार गरिदिनुभयो ।


यो पनि…

घर नम्बर १३ देख्ने बित्तिकै सितांगै भएँ


यस्ता डा. नीलमणि शर्मालाई उहाँकै निवास अगाडि धापासीमा हतियारधारीले आक्रमण गरेको खबर सुन्नुप¥यो । हामी पनि धापासी नै बस्ने भएकाले, म आँखाभरी आशुँ बनाएर उहाँको घरतिर गएँ । उहाँलाई अस्पताल लगियो भन्ने जानकारी सडकमा उभिएकाबाट पाएँ तर उहाँका बारेमा थप केही थाह भएन । यो कुरा हाम्रा पिताजीले सुनेको भए कति रूनुहुन्थो होला । यही घटनाको सेरोफेरोमा डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण भयो । उहाँ कति बेचैन हुनुभयो होला । मलाई सधैं एउटा सम्भावित दुस्परिणामले झक्झक्याइ रहन्थो– कि कतै यस्तै घटनाका कारण डा. नीलमणि वा डा. देवकोटा नेपालबाट पलायन भएको समाचार लेख्नु वा पढ्नु पर्ने त होइन ? यदि यसोभयो भने यो देश अपहरणकारी र लुटेराको पञ्जामा परेको ठहर्ने छ । डा. देवकोटासँग उपचारको क्रममा पिताजीको एकपटक भेट भएको हो तर डा. देवकोटाको बुवा होमनाथ कविराज (गण्डकी क्षेत्रका प्रख्यात कविराज) र हाम्रा पिताजीको गजवको संयोग छ । हाम्री आमासँग विवाह गर्नुअघि पिताजी बेसरी थलिनुभएछ पेटको रोगले । भन्नुहुन्थो— सङ्ग्रहिडी भन्छन् यस्ता रोगलाई । आफन्त लगाएर पश्चिमाञ्चल क्षेत्रैका नामी र चर्चित कविराज होमनाथ देवकोटा (डा.उपेन्द्रका पिता) लाई घरमा बोलाएर उपचार गराएपछि पिताजीलाई निको भएछ । त्यसपछि विवाह गर्नेबेलामा हजुरबा चिरञ्जीवी पोखरेल र मामा गोबद्र्धन पोखरेल (काँगे्रसका नेता)  बीच ठूलो विवाद भएछ । मामा गोबद्र्धन पोखरेल भन्नुहुँदोरहेछ “यो केटो रोगी र मत्तु पनि छ ।” बैनीलाई धोका हुन्छ । हजुरबा भन्नुहुदोरहेछ– “यो केटाको प्रशस्त सम्पत्ति छ, भकारीको आडा लाएर धानको भात खान पाउँछे छोरीले ।” अन्तिममा दुबैको सहमति भएछ–पिताजीको रोगबारे होमनाथ कविराजसँग सल्लाह गरी निर्णय गर्ने । होमनाथ कविराजले “मैले उपचार गरेको रोग बल्झिएर यो मर्दैन, म लेखेर दिनसक्छु” भनेपछि हाम्रा पिताजीको पछिल्लो विबाह पोखरेल परिवारमा मुहुनमाया सँगभयो । यसरी हामी डा. उपेन्द्र देवकोटालाई टाढाबाट एकोहोरो आस्था र सम्मान गर्दथ्यौं । पछिल्लोपटक उहाँ आफै विरामी पर्नुभएको समाचारले म निकै गम्भीर भएको थिएँ । डा.देवकोटा र उहाँको न्यूरो अस्पतालसँगका तीतामिठा अनुभव छन् । ती अन्य सन्दर्भमा लेखौंला ।

पिताजी बालचन्द्र वाग्ले र वहाँको प्रकाशित पुस्तकको आवरण पृष्ठ

पिताजीलाई अब तनहुँ बस्न सम्भव भएन । घरीघरी दुख्न थाल्यो । बि. एण्ड बि जादैगर्दा डा. नीलमणिले म फोन गरिदिउँला भन्दै टिचिङ अस्पतालका डा. मरहठ्ठालाई मेट्न भन्नुभयो । साह्रै संवेदनशील डा. मोदराज मरहठ्ठा (गोरखा) मार्फत डा. रोशनी अमात्य र डा. जेजु (उच्चरण नमिल्न पनि सक्छ) सँग भेटभयो । अन्तिम समयसम्म पनि डा. अमात्य र डा. मरहठ्ठाले पिताजीको उपचार गरिदिनुभयो ।

एक वर्ष दशैको बेला घरमा मासुको पर्जपखान थियो । पिताजीलाई मासु निकै खानुपर्ने तर घाँटीको दुखाइले खान सक्नुभएन । उहाँ करिव भोकै । म यो कुरा लिएर डा. अमात्यकहाँ गएँ, पिताको वेदना सुनाउदै गर्दा म रोएछु । पछि मलाई शर्म पनि लाग्यो । मेरो विवाह भइसकेको थियो । शायद छोरी जन्मेकी थिई । डा. अमात्यले मलाई सम्हाल्नुभयो । दशैंको विदामा पनि उहाँ र डा. मरहठ्ठाले पिताजीको उपचार गरिदिनु भयो । डा. अमात्यलाई पिताजीले आमा भन्नुहुन्थो । डा. अमात्य ‘म तपाईंको छोरीजस्तो मानिसलाई आमा नभन्नोस्’ भन्नुहुन्थो । पिताजी भन्नुहुन्थो–आमा भनेको धरती हो, धरतीले आफूलाई जतिसुकै पीडा भए पनि अरुलाई सुख दिन्छ, मैले तपाईंबाट सुख पाएकाले मेरालागि तपाई धर्ती हो । आमा हो । कवि, हाम्रा पिताजीको वाणि शक्तिशाली र अचम्मको हुन्थ्यो । डा. अमात्य तर्क गर्न सक्नुहुन्नथो । मिठो हाँसो हाँसिदिनु हुन्थो । चाहे नेपाल मेडिकल कलेज, बि एण्ड बि वा टिचिङ अस्पताल महाराजगञ्ज विरामीको नाम दर्ता गराउन लाग्ने दस्तुर बाहेक कुनै पनि डाक्टर वा औषधी खर्च लागेन पिताजीलाई । पछिपछि त उहाँलाई दुख्न पनि कम भो । उहाँको निधन यसका कारणले नभई सामान्य बुढ्ैयालीमा ८७ वर्षको उमेरमा भयो । यसैबीच एकपटक टिचिङ् अस्पताल महाराजगञ्ज पुुग्दा डा. अमात्यले भन्नुभएको थियो–तपाईंको बाबाको केशपछि हामीले यो अस्पतालमा पेन मेनेजमेन्ट शाखा सञ्चालन गरेका छौं । यसलाई कतिपय शल्यक्रियाको विकल्पमा प्रयोग गर्न सकिन्छ ।’

 सबै डाक्टर सापहरू हाम्रा लागि देवता समान हुनुहुन्छ । यसोभन्दा अति भावुकता वा अतिरञ्जना पनि हुनसक्छ । यदि कष्टको सागर पार लगाउने कृष्ण, राम वा साइबाबा देवता हुन सक्दछन् भने । हाम्रा पिताजीको अति दुखाइ निको पारेर कतिपय डाक्टर सापहरूले हामीलाई दुःखको भवसागर पार लगाइदिनु भएकाले उहाँहरूलाई देवता भन्नु अतिरञ्जना नहोला । पिताजीको उपचारमा अन्य केही चिकित्सक र स्वास्थ्यकर्मी पनि संलग्न हुनुहुन्थ्यो । सबैलाई पहिचान गर्न सकिन । सम्झनाको भरमा लेखेकाले यस सन्दर्भमा छुट्नै नहुने केही चिकित्सकको नाम नाम छुट्न गएकोमा माफी माग्नु लेखकीय धर्म सम्झेको छु ।


सम्बन्धित लेख

देवता, डाक्टर र पिताजी

(सुलेख मासिक, वर्ष ७, अङ्क ६, पूर्णाङ ७३, २०७५ असोजमा प्रकाशित आत्मपरक निबन्ध) त्रिभुवनचन्द्र वाग्ले पिताजी अहिले हामीबीच हुनुहुन्न । वि.सं. २०६३ पुस ९ गते निधन भएपछि उहाँ सम्झनामा मात्र हुनुहुन्छ । एउटा सामान्य नेपाली उहाँको जीवनी र अनुभव आमपाठकका लागि रूचिकर नहुन सक्छ ।  लामो कालखण्डमा मानिसका जीवनमा आएका उतारचढावलाई रङ्मसला दलेर लेखिने वर्णन … Continue reading देवता, डाक्टर र पिताजी

बझाङी राजा देवीजंग सिंहसम्म: पिताजीको पाइला पच्छ्याउँदै

हाम्रा पिताजी कवि बालचन्द्र वाग्लेले हामीलाई सुनाउनु भए अनुसार उहाँ १४–१५ वर्षको हुँदा जागिरको सिलसिलामा बझाङ्, डोटी, जुम्ला, पुग्नुभएको थियो । बझाङ्मा रहँदा उहाँको बझाङी राजा देवीजंग सिंह (जयपृथ्वी बहादुर सिंहका छोरा) सँग राम्रो परिचय भएको थियो । पिताजी बझाङमा रहँदा नै राजा देवीजंग सिंहको निधन भएछ । त्यो दुखद् घटना र राजा सिंहको योगदानको … Continue reading बझाङी राजा देवीजंग सिंहसम्म: पिताजीको पाइला पच्छ्याउँदै

2 thoughts on “देवता, डाक्टर र पिताजी

  1. यति राम्रो र मननयोग्य लेखोट पढ्न पाउँदा धन्य भएँ। साधुवाद।

    Liked by 1 person

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.