वचनमा मानिस शान्ति, डिमोक्र्यासी
सहयोग-सदभाव र अधिकारको कुरा गर्छ
र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो ।

क्षणभरमै हाँकिदिन्छ,
विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म
मेरो गोरुको बारै टक्का-
मेरो जति सबै ठिक, तेरो जति सबै बेठिक
लोकले देखेकै छैन् झैँ गरि
सर्वत्र अशान्ती फैलाउँछ र
भनिदिन्छ- यहि हो शान्ति;
बारुदको धुवाँमा ढाकिएर
आफ्नो छ दिने नाबालक खोजिरहेकी आमाले
कसरी पत्याउने
त्यो शान्ति र अधिकार
आमाहरु र अबोधहरुकालागि हो भनेर !

नपत्याए हेर
स्वदेशको अस्पतालदेखि बिदेशको खाडीसम्म,
पर्वदेखि पुज्यारीसम्म
निलो समुन्द्रको रंग
बमको धुलोले खरानी त भएकै थियो,
बिस्तारै रगतले रातिँदैछ
रावणले कोरेका चित्रहरु
कहिले सिताको भेषमा त
कहिले बुद्धको आवाजमा
अमेरिका, युरोप, अरब त
कहिले ईजरायल, प्यालेष्टाइन;
विध्वंश मचाइ रहेकाछन
हिजो उसले मार्थ्यो,
आज यसले मार्दैछ,
कहिले यता त कहिले उता
निर्दोशहरु मारीइरहेका छन
किनकि स्वभाव फेरिएको छैन
हतियारले खिइएका हातहरु
रगतले रङिएका पोशाकमा
छेस्कलोबाट वुद्ध गुम्वा भित्र पसेका-
एक हुल हुल्याहा ब्वाँसाहरू
थप बमहरु पडकाउने भन्दै
आज पनि परेवा उडाउन
उस्तै ब्यस्त छन ।

उसको जन्मसिद्ध स्वभाव,
जातिगत स्वभाव ।
सुकिलो भेष र
महँगा विश्वविध्यालयहरुले
स्वभाव परिवर्तन हुंदैन
नपत्याए हेर कमिला,
धमिरा र माहुरिका त्यो हुललाई
तिनीहरु क को अक्षर लेख्न पढन पनि जन्दैनन
सिक- जाओ तिनका घरमा,
एक वास बसी हेर, र
सिक तिनको मेलमिलाप
बडो विस्तारै जाओ,
तर्सन्छन तिनिहरु !
तिम्रो त साशले पनि
तिनको मेलमिलापलाइ
छिन्नभिन्न पारिदिन्छ
व्यस्त छन तिनिहरू
तिमिले बिनास पारेको वस्ती पुनर्निर्माण गर्न
सर्टीफिकेट हैन
विवेक सापट मागेर आओ ।

कसरी भयौ तिमी सर्वश्रेष्ठ ?
बाँदर झैँ अर्काको घर भत्काउँछौ
कोइलीले झैँ कागको फुल चोर्छौ,
ब्वाँसो झै मारेर खान्छौ
रावणझैँ सीताहरु भगाउछौ,
शान्तिदूत बनेर आत्मदाह गर्ने सन्देश दिन्छौ

चोरलाई साधु र निर्धोलाई शूली चढाउन
कानुन बनाएकोछौ
कमिला, धमिरा र माहुरीको आदर्शलाई
माथी उठनै दिंदैनौ !
अव तिमी सर्वश्रेष्ठ भएनौ
जुनि बदल्यौ, ‘मनिच’ भयौ ।

20/10/2014, UK

Advertisements