म त नेता हो

माग, चाहिए जति माग

म सबै दिन्छु

सढक ढाकेर तिम्रैलागि चिच्याउँछु

रातो दिन तिम्रै लागि त हो नि !

 

तिमीले मलाइ भोट देउ

म त्यसलाई नोट बनाउछु

त्यहि नोट गाऊँ भरी भजाउँछु

चुनाव ताका यौटा लाइसेन्स लिन आउंछु

त्यहि देखाएर तिमीलाई समाउँछु

तिमी मलाइ भोट देउ

सट्टामा म तिमीलाई भाषण दिन्छु

 

मैले दिईरहेकै छु

तिमीले पनि दिईरहेकै छाै

बिग्रेको केहि पनि छैन

विश्वास गर,

बिकास दिने मैले होइन

समाज बनाउने पनि मैले होइन

बिकास अर्थशास्त्रीले दिने हो

समाज बनाउने समाजशास्त्रीले हो

मैले त खालि उनीहरुलाई

मेरै इशारामा काम गराउने हो

तिनको सार्टीफ़िकेट मलाइ के मतलव !

 

मैले दिने भाषण हो; राशन दिने होइन

राशन त खाध्य संस्थानले दिने हो

म त राजनीति गर्ने हो;

उल्टो सुल्टो सबै भनिदिन्छु

भाषण गर्ने हो- गरिरहेछु

 

मैले त नोट बनाउने हो; बनाइरहेछु-

त्यसैकालागि लाइसेन्स रिन्यू गर्ने हो

त्यसैले त चुनावका वेला पारेर

तिम्रा आँगनमा पसारो परिरहेछु

तिम्रो भोट,

मेरो लाइसेन्स

मेरालागि सबै छुट

 

नपत्याए हेर

हिंसाको रोल्पादेखि ओखलढुङ्गासम्म

दुरुपयोगको अख्तियार देखि हेगसम्म

छापिएका नामहरु
.
अब महान नेता भएर छापिन थालेका छन्
 .
त्यसैलाई मान्न
.
हिजो इन्टरपोलको सूचना टाँस्ने
.
बिदेशी दूतहरु समेत लामबद्ध छन्
.

तिम्रो त्यो लाइसेन्सले म

स्वदेशमा दुख रोपेर

विदेशमा खुसिको फल बाँडिरहेछु

किन भने मेरा सन्ततिले

त्यतै गुजारा गरिरहेका छन्

नूनको सोझो त गर्ने पर्यो

तिम्रो नून पाएको भए पो

तिम्रो भलो गर्नु !

जे होस,

लाइसेन्स पाएकै छु

त्यसका लागि धन्यवाद !


©Jesi,2016

Advertisements