♦ निर्मल श्रेष्ठ 
nirmal_shrestha_29122_26226वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले नेपाल र नेपालीको ठूलो धनजनको क्षति पुर्‍यायो । विकासको गतिमा अवरोध सिर्जना गर्‍यो ।

हरेक कालो बादलमा चाँदनीको घेरा हुन्छ भने झैँ भूकम्पले तहसनहस भएको राष्ट्रको पुनर्निर्माण गर्नुपर्छ भन्ने कुरा मात्र उठेन राष्ट्रको मूल कानुन, संविधान बनाउन रोकिएको परिस्थितिलाई संविधान बनाउनुपर्छ भन्नेमा सबै दलहरूलाई एकै ठाउँमा ल्याउने काम पनि गर्‍यो । पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभा पनि संविधान बनाउने कुरामा अलमल थियो । भूकम्पले सबै दलमा संविधान बनाउनुपर्छ भन्ने मत बन्यो ।

संविधान घोषणा भयो । सबै कुरा पूर्ण त हुँदैन नि ! सबै कुरा पूर्ण भयो भने त्यो कल्पनामात्र हुन्छ । हरेक कुरा समयसँगै परिपक्व हुँदै जान्छ । अमेरिकाको संविधान निर्माणसँगै गृहयुद्ध निम्त्यायो । विश्वप्रसिद्ध वाइमर संविधानमा टेकेरै हिटलरले हिटल्यारिज्मको थालनी गरे । भारतको संविधान निर्माणसँगै पाकिस्तानको क्रियसन भयो । सोभियत संघको संविधान निर्माणसँगै सन् १९९० मा सोभियत संघ फुट्न सक्ने जग तयार भयो । हाम्रो पनि बिना नामाकरणको ६ प्रदेशको खाकासहितको ‘नेपालको संविधान’ घोषणा भयो ।

पश्चिम नेपालमा सीमांकनको विषयमा विमतका स्वरहरू घन्किए, विमतका स्वरहरूले हिंसात्मक रूप लिएपछि संविधानमा संशोधन गर्दै नेपाललाई सात प्रदेशमा विभाजन गर्ने काम भयो । यतिले मात्र सीमांकन र नामकरणको कुरालाई लिएर विमतका स्वर मत्थर भएन । तराईतिरको विमतका स्वरहरूले नेपालको सरहदमा गडबड हुन गयो । यस कुराको आडमा भारतको तर्फबाट अघोषित नाकाबन्दी भयो । धेरै दिन भयो, गडबडीको बहानामा यो क्रम जारी छ ।

अहिले नेपालीले अघोषित नाकाबन्दीबाट दुःख खेपिरहेका छन् । अभैm नाका सुचारु होलाजस्तो छैन । विभिन्न कोणबाट समाधानको बाटो खोज्ने काम भइरहेको छ । तर यी बादलले पनि पानी पर्ला जस्तो छैन । नाकाबन्दीले मानवीय संवेदनालाई पनि नजरअन्दाज गरिरहेको छ । तर यसबेला राष्ट्रियता भनेको के हो ? आत्मनिर्भरता भनेको के हो ? जस्ता अहम् कुराले हरेक नेपालीको मनमस्तिष्कमा एक प्रकारको तरंग पैदा गरिदिएको छ ।

२०४५ को नाकाबन्दीको बेला जन्मेका शिशुले भारतबाट हुने गरेको नाकाबन्दी, उसले सुनेको मात्र थियो । अहिले उसले प्रत्यक्ष अनुभूति गरेको छ । एउटा खुट्टाले भुइँमा टेक्दै, हातले मोटरसाइकलको ह्यान्डिल थाम्दै एक लिटर पेट्रोलको लागि पेट्रोलपम्पको लाइनमा बस्दा, दसैँमा गाडीमा कुर्चा खाएर आफ्ना आमाबाबुको हातबाट टीका थाप्न जाँदा, ग्यास नपाएर काँचो पाको खाना खानुपर्दा हामी सबै नेपालीले राष्ट्रियता र आत्मनिर्भताको कुरा के रहेछ, महसुस गरेका छौँ ।

अहिले हामीभित्र राष्ट्रियताको आभा दन्किएको छ । यो रोमान्टिक नेसनालिज्म हो । क्षणिक हुन सक्छ । जब हामी श्मशानमा पुग्छौँ, त्यहीँ लप्काले मृत शरीरलाई आफ्नो आगोमा लिइरहेको देख्छौँ । त्यो क्षण लाग्छ, जीवन त केही रहेनछ । एक दिन यस संसारलाई यसरी नै छोडेर जानुपर्दो रहेछ, क्षणिक वैराग्य पैदा हुन्छ । श्मशान वैराग्य भन्छन् क्यार ! श्मशानबाट फर्कंदै हामी सबै कुरा भुल्छौँ, हामी सांसारिक माया मोहमा फर्कन्छौँ । यस मजबुतलाई बुभ्mन जसरी ज्ञानको खाँचो हुन्छ, त्यसरी नै रोमान्टिक नेसनालिज्मलाई पोलिटिकल नेसनालिज्ममा रूपान्तरण गर्न चेतनाको खाँचो हुन्छ ।

अहिलेको सरकार कम्युनिस्टमय छ भने पनि हुन्छ । ६ जना उपप्रधानमन्त्रीमध्ये चारजना कम्युनिस्ट पार्टीका र दुईजना उपप्रधानमन्त्री गैरकम्युनिस्ट पार्टीका छन् । धर्म निरपेक्ष हुनु हुँदैन, राजतन्त्रको आवश्यकता छ भनेर वकालत गर्ने पार्टी, तराईको कुरा उठान गर्ने र संघीयतामा विमत राख्दै आएको पार्टी पनि ठूलो जिम्मेवारीका साथ यस सरकारमा सामेल छन् । यसका साथै २०६४ साल फागुन १६ गते भएको ‘स्वायत्त मधेस प्रदेश’ को सहमतिमा विमत राख्नुहुने सीपी मैनाली (उपप्रधानमन्त्री), जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे आदि पनि सरकारको पक्षमा रहेका छन् । यो सहभागिता सरकारको सौन्दर्य हो ।

सरहदपारिबाट संविधान बनाउने बेला सरसल्लाह आए होलान् । यसरी बनाउँदा राम्रो हुन्छ भनेर अह्रनखटन भए होलान् । तर नेताहरूले संविधान बनाउँदा नेपालवादी भएर जुन फरक खाले उदाहरण पेस गरियो, अर्को शब्दमा भन्नुपर्दा कुरा टेरेनन्, यसले आफ्नो अनुकूल खोज्नेहरू खुसी भएनन् । अघोषित नाकाबन्दी भयो । सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू र पार्टीका जिम्मेवार नेताहरू भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीको एकै स्वरमा विरोध गरिरहेका छन् ।

सुरुमा यस कुरामा नेताहरू गल्ने हो कि भन्ने धेरैलाई लागेको थियो, तर नेताहरू यस कुरामा टसमस भएनन् । तर अहिले देखिएको समर्पण मात्र आफैँमा पर्याप्त हुँदैन, त्यो त मात्र पहिलो चरण हो । आत्मबोधको ज्ञान निमित्त निरन्तर प्रयत्न हुनु अत्यावश्यक छ । अहिले यसकोे खाँचो छ । गन्तव्यमा पुग्नु भनेको लक्ष्यमा पुग्नु होइन । किनभने त्यसको आकर्षणले तान्नु, त्यसको प्राप्तिका लागि दगुर्नु, त्यसको विषयमा छट्पटिनु नै सही अर्थमा वास्तविक सुख हो र यही नै सौन्दर्यको उपासना पनि हो ।

अब इतिहासतिर फर्कौं । जंगबहादुर सत्तामा आउँदाको बखत भनौँ वा जंगखलकको निमिट्यान्न गरी शमशेर खलकको उदयसँगै ब्रिटिस रेजिडेन्टको अनुकूलमा सम्झौता हुने गर्‍यो । वीरशमशेरको पालामा नै गोर्खा भर्ती गर्ने औपचारिकता पूरा भयो । केही सन्धिहरू हाम्रो पक्षमा पनि देखिए । सन् १८१६ डिसेम्बर ८ मा पुनः संशोधन भएको सुगौली सन्धिमा नेपालले एक वर्षअगाडि सुगौली सन्धिको धारा ३ को उपधारा ३ मा नेपालले गुमाएको कोसी नदी र गण्डक नदीबीचको सम्पूर्र्ण तराईका भूभाग फिर्ता पाएको थियो भने जंगबहादुरले सन् १८५७ को गरदमा ब्रिटिसलाई सघाएबापत सन् १८६० को सन्धिको धारा २ अनुसार नेपाललाई महाकाली नदी र राप्ती नदीबीचको सम्पूर्ण तराईको भूभाग नेपाललाई फिर्ता दिइएको थियो ।

पछि पनि अंग्रेजले भारत छोडेर जाने बेला नेपालले दोस्रो विश्वयुद्धमा बेलायतलाई सघाएबापत ब्रिटिस भारत सरकारको तर्फबाट जुद्धशमशेरलाई ‘सिभिलियन जीसीबी’ पदक र ब्रिटिस सेनाको ‘अनरेरी–जनरल’ को पद प्रदान गर्नुका साथै पद्मशमशेरलाई ‘जीसीएसआई’ र मोहनशमशेरलाई ‘जीसीआईई’ पदक प्रदान गरिएको थियो । साथै एकमुष्ठ तीन करोड ३३ लाख नगदलगायत प्रथम विश्वयुद्धदेखि दिँदै आएको वार्षिक १० लाख रुपैयाँ पनि यथावत् दिने गर्‍यो ।

यतिमात्र होइन, तत्कालीन ब्रिटिस भारतका भायसराय लर्ड वेभलले २००१ साल भदौ महिनामा जुद्धशमशेरलाई भारत बोलाई ‘अब चाँडै हामीले भारत छोडी जाँदैछौँ र भारतलाई भारतीयहरूलाई नै सुम्पने तर भारतलाई टुक्र्याई स्वतन्त्र पाकिस्तानको घोषणासमेत गर्ने र बर्मा तथा श्रीलंकालाई पनि बेग्लाबेग्लै स्वतन्त्र राष्ट्र घोषित गर्ने, भारतका अरू राज्यहरूलाई पनि स्वतन्त्र घोषित गरी इच्छाअनुसार चाहे भारतमा अथवा पाकिस्तानमा सम्मिलित हुन सक्ने स्वतन्त्रतासमेत प्रदान गर्ने भएका छौँ । नेपाल सरकारलाई पनि हामीले (सर्वप्रथम पूर्वीपाकिस्तान हालको बंगलादेश) सो इलाका नेपालसँग जोडिने गरी माग गर्नुहोस्, बिनाआपत्ति सजिलै सो सम्पूर्ण इलाका नेपाल सरकारलाई दिनेछौँ’भनेका थिए ।

त्यसपछि पनि अक्टोबर २४, १९४५ सन्का दिन भारत सरकारका प्रधानसेनापति सर क्लाइड अँकिनलेक काठमाडौँ आएर ‘अझैँ समय छ (सर्वप्रथम पूर्वीपाकिस्तान हालको बंगलादेश) को माग गर, डराउनु पर्दैन हामी छौँ, नत्र सो इलाका हामीलाई पूर्वीपाकिस्तान गराउन बाध्य हुनुपर्छ’ भनी भनेका थिए । तर समयसापेक्ष विश्लेषण गर्न नसक्दा अहिले हामी यसरी कुर्चा खाएर बस्नु परिरहेको छ ।

यी सबै कुराको मूल चुरो ‘नेपाल दुई ढुंगाबीचका तरुल हो’ भन्ने चिन्तन हो । तरुल मूलाकादी वर्गको कन्द हो । यसले आफ्नो सामीप्यमा रहेको वस्तुसँग मिल्दा आफ्नो आकार तय गर्ने गर्छ । यसको यो प्रकृति नै हो । यसले बल गरी आफ्नो आकारलाई निर्धारण गर्न सक्दैन । यही तरुलको चिन्तनलाई आत्मसात गर्दै हामी सयौँ वर्ष हाम्रो कूटनीतिक सम्बन्ध पछ्याउँदै आएका छौँ । अब चीनमा बादशाह छैनन्, जनतन्त्र छ । दक्षिणका बादशाह पनि उहिल्यै नै भारत छोडी गइसकेका छन् । जगतीकरणले विश्वलाई साँघुरो पारिसकेको छ । अब नेपाल दुई ढुंगाबीचको तरुल होइन कि पाषाणभेद बन्नुपरेको छ । पर्पटादी वर्गको झीनो वनस्पति भए पनि उसले ढुंगा फोडेर निस्कने गर्छ । त्यसैले त यस बिरुवालाई पाषाणभेद, शिलाभेद, अश्मभेदक भन्ने गर्छ ।

अबको नेपालको परराष्ट्र नीतिलाई नयाँ ढंगले लेख्नुपर्छ । अब डाउन टोनले होइन प्रस्ट तौरले आफ्नो कुरा राख्नुपर्ने बेला आएको छ । विश्वका ससाना स्वशासित राज्यहरूसमेत गरी ३० वटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् । अफ्रिकामा १४ वटा, एसियामा पाँचवटा, दक्षिण अमेरिकामा दुइटा र युरोपमा नौवटा गरी ३० वटा राष्ट्र त्यसमध्ये युरोपका सबै भूपरिवेष्ठित राष्ट्रहरू विकसित राष्ट्रको स्तरमा रहेका छन् । अब हामीले आपूmले गर्ने सन्धिसम्झौता र वार्तालाई किन दर्बिलोसँग नराख्ने ? हामीले कोसी, गण्डकी र पञ्चेश्वरमा उपभोग गर्न दिएको जमिनको साटो जमिनको नै माग किन नगर्ने ? किचकबधदेखि ठाकुरगन्ज हुँदै बंगलादेशसम्मको सुरुङमार्गको किन पहल नगर्ने ? जुन आठ/दस किलोमिटरको सुरुङमार्ग नै त हो नि । अब अन्तर्राष्ट्रिय नियमकानुनको परिधिभित्र रही मित्रराष्ट्रहरूसँग कुरा राख्नुपर्ने बेला आएको छ ।

हाइलाइट
युरोपका सबै भू्परिवेष्ठित राष्ट्रहरू विकसित राष्ट्रको स्तरमा रहेका छन् । अब हामीले आपूmले गर्ने सन्धिसम्झौता र वार्तालाई किन दर्बिलोसँग नराख्ने ? हामीले कोसी, गण्डकी र पञ्चेश्वरमा उपभोग गर्न दिएको जमिनको साटो जमिनकैै माग किन नगर्ने ?

२०७२ मङ्शिर ६ आईतवार
See more at: http://annapurnapost.com

Advertisements