download

© पुष्प पौडेल

नेपालको छ दशक लामो राजनैतिक ईतिहासलाई केलाएर हेर्नेहोभने देशमा सदैव दुई प्रकारका अस्थिरताहरुले देश गांजिदै आईरहेको छ । पहीलो प्रमुख समस्या, देशमा राजनैतिक स्थिरता र दोश्रो योजनावद्ध बिकाशको अभाव हो । देशको समृद्धि र विकाशलाई जहीले पनि राजनिती संग जोडेर हेरीने हुंदा राजनिती जति भ्रष्ट, असक्षम, गुटबन्दिग्रस्त हुन्छ त्यती नै त्यसको असर विकाशमा पनि देखापर्दछ । तसर्थ नेपालका राजनितिक दलहरु जतिबढी सक्षम र दुरदृष्टि राख्ने, गुटरहीत पार्टी संचालन गर्ने, पार्टीमा सबल र सक्षम कार्यकर्ता तथा नेताहरुको पहुंच हुन्छ त्यती नै देशमा राजनितिक स्थिरता तथा देशको समृद्धि र विकाश सम्भव हुन्छ । तर नेपालमा यी दुवै अस्थिरताहरु दिर्घरोगका रुपमा ग्रसित छन ।

वि.पी.काईरालाले लामो समयदेखि स्थापित राणाशासनको अन्त्य र राज्य सञ्चालनमा जनताद्धारा प्रतिनीधित्व शासनपद्धति स्थापित गर्ने काममात्र गरेनन कि देशको भविश्य नै नंंया ढंंगबाट कोर्ने कार्यको थालनी समेत गरेका थिए । देशको विकाशक्रमलाई नंया ढंगबाट सोच्न थालिएको थियो । जनताका मौलिक तथा राजनैतिक अधिकारहरुका बारेमा योजनाबद्ध ढंगबाट कार्यको थालनीहुन शुरु भएको थियो । तर त्यो राजा महेन्द्र शासन सत्तामा आईपुगेपछि क्रुरढंगबाट निमोठ्ने काम भयो । यहीबाट शुरुभयो नेपालको राजनितिक अस्थिरता र विकाशक्रम ।

वि.पी.कोईराला अगाडी नेपालमा भारतीय सरकारी प्रसाशकहरुबाट राज्य संचालित हुनेगरेकोमा कोईराला कै पालामा सो अधिकारलाई फिर्ता गरिएको थियो । शायद त्यही समयबाट भारतले नेपालप्रति गर्दै आएको राजनैतिक तथा प्रशासनिक हस्तक्षेप गर्ने ईतिहासको निरन्तरता हुनुपर्दछ आजको जातिय र क्षेत्रिय आन्दोलनको जग । आज नेपाल नंया संविधान निर्माणको अन्तिम चरणमा पुग्न लागिसकेको सन्दर्भमा उत्पन्न क्षेत्रिय र जातिय आन्दोलनका अगुवाहरुले भारतिय नेता तथा प्रशासन समक्ष गरेको हारगुहार आम संचार माध्यममा आईरहदा विगतको ईतिहासलाई दोहोर्याउने कथित प्रवृत्तिको पुनरावलोकन भन्नुमा अनुपयुक्त नहोला । नेपाली कांग्रेसले भारतिय सेना मिसन र भारतीय सरकारी सल्लाहकार फिर्ता गर्ने निर्णयलाई भारतले त्यसबेला पनि भारत विरोधी नेपालको चरित्रका रुपमा चित्रण गरेको थियो । तर पनि वि.पी. कोईरालाले त्यसलाई सुझबुझका साथ ब्यवस्थापन गर्न सफल भएका थिए । यस्तै प्रकारको भारतीय हस्तक्षेपका घटनाक्रमहरु अहीले पनि नभएका हैनन । जुन बन्नलागेको संविधान निर्माण प्रकृयामा जटील समस्या बन्दै गईरहेको छ । तर यसलाई न त नेपाली कांग्रेसले व्यवस्थापन गर्न सकेको छ, न त अन्य दलले नै । अहीले राज्य संयन्त्रको प्रमुख हिस्सेदार नेपाली कांग्रेस भएको नाताले पनि यो भूमिका उसको हुन आंउदछ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा संविधान ल्याउने नेपाली जनता माझ गरेको प्रतिवद्धता अनुरुप प्रमुख दायित्व पनि उसैको हुन जान्छ । आज वि.पी. कोईरालाको १०१ औं जन्मजयन्ति मनाईरहदा उनको त्यो ईतिहासलाई नेपाली कांग्रेसले विर्सनु हुदैन र यसको व्यवस्थापनमा लाग्नु जरुरी हुन्छ । किनकि हामी संविधान निर्माणको अन्तिम घडीमा छौं र अखण्डका नाममा होस वा मधेशका नाममा क्षेत्रिय तथा जातिय समस्याहरु खरबारी डढेलो लागे जसरी बढ्दोछ । शुरुमै उल्लेख गरिए झैं राजनितिक समस्यानै आजको समस्या भएकोछ जुन देशको समृद्धि र विकाशसंग जोडीएर बसेको छ ।

हामीले चाहेको संविधान हाम्रो तथा राम्रो संविधान हो । नेपालीको संविधान हो । दलित, मधेशी, अल्पसंख्यक, आदीवाशी तथा जनजाती, पिछडीएकावर्ग तथा समुदाय आदीको राजनितिक आर्थिक तथा सामाजिक क्षेत्रमा पहुच पुग्ने तथा सुनिश्चित हुने संविधान हो । यसका लागि मुलुकमा विकेन्द्रित सरकारको आवश्यकता पर्दछ । अहिलेको निर्माणाधिन संविधानमा नेपाली जनता त्यही खोजीरहेका छन । यो तब सम्भव छ जब देशले संघिय लोकतान्त्रिक संविधान प्राप्त गर्दछ । वि.पी.ले उठाएको अर्को महत्वपूर्ण परिवर्तन पनि विकेन्द्रित सरकार नै थियो । देशको तल्लो भन्दा तल्लो निकायसम्म लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउने हो भने विकेन्द्रित शासन पद्धति नै विकल्प रहीत हुन्छ । जुन बन्न लागेको संविधानमा सुनिश्चित हुदैछ । यही संविधानबाट आज सम्मको केन्द्रिकृत शासन पद्धति प्रादेशिक, स्थानिय निकाय हुदै जनताको घरदैलौ सम्म पुग्ने चांजोमाजो मिलाउदै छ । यसलाई छ दशक लामो ब्यग्र प्रतिक्षाको घडी मानेर स्वागत गर्नुको विकल्प छैन । संघिय संरचनामा सिमा निर्धारणलाई प्रमुख असन्तुष्टिको विवाद नबनाऔं । अधिकार प्राप्तिको बिषयमा जोड दिउ । एकैचोटी सबै अधिकार प्राप्त गनैतर्पm लाग्दा प्राप्त हुनलागेको उपलब्धि पनि गुम्न सक्दछ । यसको सवल पक्ष सात प्रदेशमा देशलाई क्षेत्रिय विभाजन गरिदै छ साथै यसलाई थपघट गर्नसक्ने अधिकार पनि त्यही संविधानले दिएको हुनाले समयसापेक्ष थपघट गर्न सकिने प्रावधानहरु सुरक्षित छन । सबै थोक एकै पटकमा खांउ, धेरै खांउ भन्दा स्वास्थ्य विग्रन सक्दछ । तसर्थ धेरै खांउ, सबैथोक खांउ तर समय लगाएर, अनुभव बटुलेर तथा त्यसले भावि सन्ततिलाई पुर्याउन सक्ने सकारात्मक तथा नकारात्मक असरहरुलाई केलाएर मात्र खांयौं भने संघिय लोकतान्त्रिक पद्धति दिगो र स्थायित्व हुने हुन्छ ।

वि.पी. कोईरालाको भाषामा भन्नुपर्दा पनि हाम्रो देश गरिब र सानो छ । मुलुकको अर्थतन्त्रको बाध्यता र भौगोलिक आकारले गर्दा यहां विकेन्द्रित शासन पद्धति नै उपयुक्त हुन्छ । यसकारण पनि देशमा संघिय राज्य ब्यवस्था अपरिहार्य छ ।

क्षेत्रिय तथा जातिय स्वरुपमा मूलुकलाई विभाजन गर्न सकिन्न किनकि यहां १०३ भन्दा बढी जातजातीहरुको वसोबास छ । १२३ भन्दा बढी भाषाभाषिहरु छन । हिमाल पहाड तराई कोइछैन पराई भन्ने भावनाले बिकशित राज्यको संयन्त्रले नै मुलुकको राजनैतिक स्थायित्व भरपर्दो र टिकाउ हुन्छ । नेपालीको चुनौति गरिबी हो, अशिक्षा हो तथा उनिहरुको अधिकार सुनिश्चित गर्नु हो । वि.पी. कोईरालाले देशको भविश्य कार्दै गर्दा नेपालीको रहनसहन, आर्थिक अवस्था, भौगोलिक क्षेत्रियता तथा दमित अधिकारलाई हेरेर गरेको चिन्ता पनि यही नै हो ।

वि.पी.कोईरालाको जन्मजयन्ती मनाईरहदा मूलुकको ग्रामीण स्तरबाट उपल्लो राज्य तथा पार्टी संयन्त्रसम्म भ्रष्ट, स्वार्थी, असक्षम, गुटउपगुटमा विभाजित र दुरदृष्टि राख्न नसक्ने सामन्तिसंस्कारको सोचबाट नेताहरुले नेपाली जनतालाई मुक्तराख्न संकल्पकृत भएर लागुन भन्ने सकारात्मक सोच सबैमा पलाओस भन्दै महानायक विशेश्वर प्रसाद कोईराला प्रति हार्दिक भावपूर्ण श्रद्दान्जली प्रकट गर्दछु ।

  • लेखक प्रध्यापन पेशामा संलग्न छन 
Advertisements