काठमाडौं । चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष । संघीयताको सबैभन्दा ठुला विरोधी । सिंगो देश संघीयतामा जान लाग्दा उनै एक जना केसी मात्र संघीयता विरोधी हुन् र उनले भविष्ण वाणी गरेका छन् संघीयता आयो भने देश दलदलमा फस्छ ।

प्रष्ट भाषमा र ठेट नेपाली शब्द प्रयोग गरेर बोल्ने संघीयता विरोधी धारका एक्ला पुरुष केसीसँग नेपाल सन्देशले विशेष कुराकानी गरेको छ । उनीसँग गरिएको कुराकानीको अंश उनकै भाषमाः

संविधान रोकीएकै संघीयताले
हेर्नुस् तपाईले पनि बुझ्नु भएको छ की नेपालमा संघीयताकै कारण संविधान अड्कीएको छ ।

देशभक्त नेपाली जनता संघीयताको विरोधी छन् भने विदेशी शक्तिको पुजा गरेर सत्तामा पुगेकाहरु संघीयताको नारा लाइरहेका छन्, प्रभुलाई खुसी पार्नकै लागि ।

उनीहरुले आम जनताको भावना विपरित अहिले नाटक मञ्चन गरिरहेका छन् । संघीयता नआउँदै त देशमा यस्तो अवस्था आइसक्यो, आएपछि के होला ? आंकलन आफैं गर्नुस् । संघीयताले ल्याउने परिणामसँग उनीहरुलाई कुनै चासो छैन ।

विदेशीको मन्त्र हो संघीयता
म अहिले पनि भन्छु, हिजो पनि भनेको हुँ र भोलि पनि भन्छु यो संघीयता नेपाल र नेपालीको एजेण्डा हुँदै होइन । यसको तानाबाना बुन्नेकाम भारतले गरेको छ र यो निकै लामो समयदेखि भारतले षड्यन्त्र गरिरहेको छ ।

नेपालको हिमाल, पहाड र तराइलाई आलग अलग गराउने र ती संघहरुलाई स्वायत्तताको अधिकार समेत दिलाउन रात दिन भारतको सरकार, अनि र लगायतका सिंगो भारत लाग्नुको अर्थ के ?

अभिन्तरमा खण्ड खण्ड गरेर नेपाल सिध्याउने उद्देश्य बाहेक अर्को कुनै छैन । भारतको त्यस्तो अभियानमा केही पश्चिमा शक्तिकेन्द्रहरुले पनि सहयोग गरेका छन् । ध्यु थप्ने काम गरेका छन् ।

जातिबाद भित्राइदिने उनै हुन् । हाम्रा नेता विदेशीको षड्यन्त्रमा नराम्रोसँग फसेका छन् । उनीहरुलाई पानि विनाको हिले माछो जस्तो बनाइसकेका छन् ।

नेपालीलाई लडाउने अनेक षड्यन्त्र
नेपालमा जबरजस्ती जातिवाद, धार्मवाद र पृथकतावाद भित्राएर नेपाली नेपालीलाई भिडाउने योजनामा विदेशी रहेका छन् । सबै प्रकारका भुमरीमा नेपाललाई फसाउन लागिपरेका विदेशीको स्वार्थ पुरा गर्नकालागि हाम्रा शीर्ष भनिएका नेताहरु दौडिरहेको तपाईंले पनि देख्नुनै भएको छ नी ।

छ वर्षमा आएन…
छ सात वर्षमा संविधान ल्याउन नसक्नेले साउन मसान्त भन्नु हाँस्यादपद बाहेक केही होइन । सात वर्षमा आउन नसकेको संविधान साउन मसान्त सम्म आउछ ? पत्याउने ? केपी ओलीलाई प्रधानमन्त्री बन्न हतार, सुशीललाई र राष्ट्रपतिलाई हुँदा खाँदाको जागीर जाला भन्ने डर । सबैको स्वार्थ कहिले मिल्छ र संविधान आउने ?

भारतले सधैं खेलाउँछ
अन्तरिम संविधान आइसकेपछि भारतले ककसलाई लडायो, को को मारिए छर्लंङै छ नि । अनि कसरी सम्झौता गरायो र कसरि संविधान मान्न बाध्य बनायो त्यो पनि सबैलाई थाहै छ ।

२००७ साल देखिनै भारतले नेपालमाथि यस्तै गर्दै आइरहेको छ । सत्ताकालागि हाम्रा नेताहरु भारतको जस्तो प्रस्ताव पनि आँखा चिम्लिएर स्विकार गर्ने गरेका छन् । यसकै परिणाम आजको पुस्ताले दुःख पाइरहेको छ ।

हाम्रा नेताहरुले आफुलाई केन्द्रमा राख्ने, मुलुकलाई सखाप पर्ने काम गरिरहेका छन् । एक दिन नेपाली जनताले यीनिहरुलाई छाड्नेछैनन् ।

संघीयता मान्दै मान्दिन
संघीयताले मुलुकलाई अन्ततः सखापको मार्गमा लाने पक्का छ । अहिले चित्रबहादुर बौलायो भन्नेहरु केही वर्ष बाँचेभने मलाई नै सम्झनेछन् । कसैले घोक्न लगाएको प्रणलीको पक्षमा लहैलहैमा उभिदा देश सखाप हुनेछ ।

कसैको स्वार्थकालागि स्वर्गजस्तो प्यारो नेपाललाई बलि दिन सकिन्छ ? भारतको निहित स्वार्थ र केही पश्चिमाहरुले उचालेको जातिय संघीयताको पक्षमा उभिदा देश कहाँ पुग्छ ।

संघीयता नआउँदा त यस्तो रडाको छ आइसकेपछि के होला ? बाँचुन्जेल संघीयता मान्दै मान्दिन, सुन्न पनि चाहन्न । संविधान जारी भएको भोलिपल्टबाट मारामार भयो भने जिम्मेवारी कसले लिने ?

१६ बुँदे हिम्मत हो
१६ बुँदे सहमति नेपाली राजनीतिमा एउटा हिम्मत थियो । तर, १६ बुँदे विदेशी प्रभुहरुलाई चित्त नबुझेपछि अहिले आएर नेताहरु छट्पटाउन थालेका छन् र फेरी १६ बुँदेमाथि प्रश्न उठाइएको छ ।

नेपाली मौलीक सहमति यहाँ कुनै हालतमा कार्यान्वयन हुनै सक्दैन । राजनीतिलाई व्यापार बनाएर अघि बढेकाहरुले त जे पनि गर्छन् नी । नैतिकता हराएको राजनीतिमा यस्तो हुनु स्वभाविक पनि हो ।

बामपन्थी डराए, हिन्दुबादी सलबलाए
धर्मको नाममा राजनीति गर्नेहरुले अहिले अस्थिरता मच्चाउन थालेका छन् । धर्मका नाममा राज गर्दै आएकाहरुले आफ्नो भाग खोसिएपछि यस्तो अभियान चलाउने त भैहाले ।

अरुको धर्मको मतलब छैन, आफ्नो कुरा मात्र लाद्न खोज्नुपर्ने अवस्थाको अन्त्य आवश्यक छ । धर्मको नाममा राजनीति गर्नेहरुका कारण यस्तो भैरहेको छ ।

त्यही भारत धर्म निरपेक्ष अनि मोदीका मान्छे हप्तै पिच्छे आएर सापेक्षताको भाषण गर्न लाज लाग्दैन ? यसमा कांग्रेसीहरु त गल्ने भैहाले, हाम्रा कम्युनिष्ट भनिएका ओली र प्रचण्डहरु पनि गलेको देख्दा अचम्म लाग्छ ।

कम्युनिष्टको अर्थ हिम्मत हो । हिम्मत नै हराएपछि उनीहरु के कम्युनिष्ट ?

See more at Nepal Sandesh

Advertisements