कृष्णराज खनाल
कृष्णराज खनाल

साथी म आएँ
अब तिम्रो उठ्ने पालो हो
तिमी उठ र
मलाई सुत्न देउ ।
मलाई अझै सुत्न मन छ
तर म पाउँदिन
किनकि
बिहान भएपछि मेरो,
रात परेपछि उसको
पालो हो
यहाँ सुत्ने
किनकि यो हाम्रो विछ्यौना हो,
हाम्रो आधार हो
जहाँ हामी दुवैको
पसिनाको गन्ध मिसिएको छ ।
यो कहिले तिम्रो हुन्छ,
कहिले मेरो हुन्छ
कहिले तिमी सुत्छौ,
कहिले म सुत्छु
आलोपालो गरेर हामी सुत्छौँ
किनकि यो
न्युयोर्क हो,
संसारको राजधानी हो
यहाँको चलन यस्तै छ
यहाँ महँगीले सबलाई पिरोलेको छ ।
तिम्रो धर्म अलग भएर के भो ?
तिम्रो विचार अलग भएर के भो ?
तिम्रो देश अलग भएर के भो ?
आखिर हामी यही भूमण्डलका
कीरा न हौँ ।
हात र मुख जोड्नका लागि
रोटीका लागि,
छोराको कलमका लागि,
स्वास्नीको फरियाका लागि
पसिनाको खेती गरेर,
पसिनाका भलहरु बगाएर
म भर्खर फर्केको छु
मेरो भाव बुझेर
मेरो मूक सम्बाद देखेर
मेरो चेहरा हेरेर
ऊ उठ्छ र
मलाई ऊ सुतिरहेको तातो विछ्यौना
सुम्पन्छ र फटाफट काममा निस्कन्छ ।
ऊ आउँछ साँझमा लखतरान भएर
म मेरो तातो बिछ्यौना उसलाई
सुम्पेर काममा लाग्छु ।
यो हाम्रो भद्र सहमति हो
ऊ आएपछि म उठ्ने
म आएपछि ऊ उठ्ने
हाम्रो सहमति कहिल्यै तोडिएन
कहिल्यै भत्किएन
किनकि त्यो विछ्यौना
हाम्रो आधार हो
हामी दुवै
देश छाडेर
यस गगनचुम्वी शहरमा
शरणागत भएका हौँ वर्ष पहिले ।

कृष्णराज खनाल, (हाल अमेरिका) 

अगष्ट २२, २०१४

Feature image : FB KR Khanal & Goggle

Advertisements